बुद्ध दर्शनको महत्त्व झनै बढेको छ : प्रधानमन्त्री देउवा

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध दर्शनको महत्त्व अहिले झनै बढेको बताउनुभएको छ । अहिले विश्वमा युद्धसमेत भइरहेको भन्दै अहिंसा र शान्तिको बुद्ध दर्शन अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका बताउनुभएको हो । सोमबार बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वमा युद्ध चलिरहेको कारण बुद्ध दर्शनको महत्त्व अहिले झनै बढेको बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘विश्वका विभिन्न भूभागका मानिसहरूले अहिले हिंसा, वैमनश्यता र युद्धको सामना गरिरहनुपरेको छ । सशस्त्र बन्ने होडबाजी आदि कारणले जनजीवन चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेशहरू अझै सान्दर्भिक र माननीय भएका छन् । पारस्परिक सम्मान, अहिंसा, सद्भाव आदि विश्वका लागि भगवान् बुद्धका सन्देशहरू अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका छन् ।’

प्रधानमन्त्री देउवाले गौतमवुद्धले नेपाल र भारतलाई एक आपसमा भावनात्मकरूपमा जोडेको बताउनुभयो । भगवान् बुद्धका कारण नेपाल र भारत भावनात्मक र धार्मिकरूपमा एक आपसमा जोड्न सकिएको समेत देउवाले बताउनुभयो। उहाँले भन्नुभयो, ‘दुवै देशका नागरिकका लागि गौतम बुद्ध उत्तिकै श्रद्धेय हुनुहुन्छ, उहाँको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकलाई नजिकबाट प्रभावित पारेको छ ।’ गौतमबुद्धले दिएका चार उपदेशले मानव जीवनलाई पापबाट मुक्त दिलाइरहेको समेत प्रधानमन्त्री देउवाले बताउनुभयो ।

देउवाले भन्नुभयो, ‘जीवनलाई रोग, शोक र दुःखबाट माथि उठाउनका लागि, शान्ति स्थापनाका लागि बुद्धका शिक्षा आज पनि विगतकै जत्तिको सान्दर्भिक छन्,’ उहाँले भन्नुभयो, ‘आज विश्वका विभिन्न ठाउँमा मानवजातिले हिंसा, ईर्ष्या र युद्धको सामना गरिरहनुपरेको छ ।’ यस्तो परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेश सान्दर्भिक र मननयोग्य बन्न पुगेका छन् ।

प्रधानमन्त्री देउवाले भगवान् बुद्धको जन्मभूमि लुम्बिनीलाई पुजेर राख्न सरकार प्रतिबद्ध रहेको भन्दै विश्वशान्तिका लागि लुम्बिनीको संरक्षण गर्ने बताउनुभयो । नेपाल र भारतका तीर्थयात्रीहरूलाई जोड्न, मुक्तिनाथ, पशुपतिनाथ र लुम्बिनी फलदायी रहेको भन्दै बुद्ध दर्शनलाई चिनाउन नेपाल र भारतमा बुद्ध सर्किट बनाउन लागिपर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कोभिड १९, भूकम्प लगायतका कठिन समयमा भारतले गरेको सहयोगप्रति आभारसमेत प्रकट गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै लुम्बिनीमा पुगेका प्रधानमन्त्री देउवाले आपसी समझदारी र पारस्परिक सम्बन्धबाट दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुराउने समेत बताउनुभएको छ । ratopati

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार