एमालेले संसदमा अवरोध जारी राख्ने उपाध्यक्ष नेम्वाङको भनाइ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्ने भएको छ । मंगलवार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय नलिइसकेको बताउनुभयो ।

उहाँले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिसकेको तर छलफलमा भइरहेको बताउनुभयो । उपाध्यक्ष नेम्वाङले स्थानीय निर्वाचनको मत परिणाम आइरहेकाले त्यसलाई ध्यानमा राखेर नयाँ निर्णयमा पुग्ने बताउनुभयो । उपाध्यक्ष नेम्वाङले सत्तामा रहेको दलले प्रमुख प्रतिपक्षको बिरुद्धमा गठबन्धन गरेर प्रमुख प्रतिपक्षलाई एक्ल्याउने ढंगले काम गर्नु आश्चर्य भएको बताउनुभयो । उहाँले सबै दलहरु मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभइ नेपालमा मात्रै भएको जिकिर गर्नुभयो । उहाँले सबै दल मिलेर एमालेलाई घेराबन्दीमा पर्दासमेत अहिले आइरहेको मत परिणामले आफू उत्साहित भएको बताउनुभयो ।

यस्तै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय निर्वाचनको नतिजा पार्टीले अपेक्षा गरेअनुसारको नभएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले राज्य संयन्त्रको चरम दुरुपयोग गरेको आरोप लगाउनुभयो । प्रमुख सचेतक भट्टराईले स्थानीय तह सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दुई किसिमका घेराबन्दी गर्दा पनि नतिजा राम्रो आइरहेको बताउनुभयो । उहाँले स्थानीय तह सदस्य निर्वाचनको नतिजाबारेमा पार्टीले समीक्षा गर्ने पनि बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार