मलाई प्राप्त मत चितवनको राजनीतिलाई निर्णायक मोड दिन पर्याप्त छ : पौडेल

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले आफूलाई आएको मत सचेत नागरिक र डर धाक धम्कीबाट पछाडि नहट्ने मतदाताहरुको रहेको बताउनुभएको छ । ‘निर्वाचित नभए पनि मलाई जे जसरी मत आयो यो सन्तोषजनक हो,’ बुधबार बिहान भरतपुर लंकूमा भएको पत्रकार सम्मेलनमा नेता पौडेलले भन्नुभयो ।

पद, पैसाको लोभ र कारवाहीको डर नभएकाहरूले दिएको यो मत निकै शक्तिशाली भएको उहाँले जिकिर गर्नुभयो । भरतपुर महानगरपालिकामा मेयर पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल ५२ हजार २८ मत ल्याएर निर्वचित हुनुभएको छ । पौडेलले १४ हजार ७२८ मत ल्याएर तेस्रो हुनुभयो । ‘१०/१२ हजार मत जुन हामीलाई आएको देखिन्छ त्यो बदर भएको छ ।

रुख र हाम्रो चुनाव चिन्ह भुईंकटरमा छाप लगाएर ती बदर भए । प्राविधिक रूपमा बदर मत गणना नहोला तर हामीलाई समर्थन त हो नि । दुवै जोड्दा हामीले ल्याएको मत चितवनको राजनीतिलाई निर्णायक मोड दिन पर्याप्त छ भन्ने लाग्छ,’ पौडेलले भन्नुभयो ।अब आउने संघीय संसद् र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन भन्दै केही मान्छेको स्वार्थ पूरा गर्ने, देशको लोकतान्त्रिक पद्दतिलाई योगदान नपुर्‍याउने भए आफूहरु सोच विचार गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

‘तर अहिले हामी दलहरुलाई सचेत गराउने, पार्टीहरुले कार्यकर्ताको मनोविज्ञानलाई बुझेर निर्णय गरून् भन्नेमा नै हाम्रो ध्यान जान्छ । अलग दिशामा जाने बारेमा अहिल्यै केही निर्णय गरेका छैनौं,’ पौडेलले भन्नुभयो । सत्ता प्राप्तका लागि लागेका अहिले आफूहरूबाट डराएको उहाँले बताउनुभयो । पार्टीले कारबाही गरेको भने पनि त्यो तर्साउनका लागि मात्रै भएको उहाँले बताउनुभयो । ‘हामीले केही कसुर गरेका नै छैनौँ । पार्टीको विधान उल्लंघन गरेका छैनौं । हामीलाई विधानको यो धारा उल्लंघन गरेको भनिएको छैन ।

प्रस्टीकरण त नसोधेको तर्साउनलाई मात्र हो भन्ने लाग्छ । यदि कारबाही गरे हामी कानुनी उपचारमा पनि जान्छौं,’ वरिष्ठ अधिवक्तासमेत रहेको नेता पौडेलले भन्नुभयो । गठबन्धन गरे पनि भरतपुरमा मेयर नेपाली कांग्रेसले नै पाउनु पर्दछ भन्ने आम कार्यकर्ताको मागलाई आफूले स्वीकार मात्रै गरेको उहाँले बताउनुभयो । जिल्लाले नै यसो भन्दै एक मतले निर्णय गरेको छ । आम भरतपुरका कांग्रेस नेता कार्यकर्ताको माग यही हो । त्योअनुसार नभएपछि मैले उम्मेदवारी दिएको हुँ । म कांग्रेसविरुद्ध लागेकै होइन, त्यसैले किन कारबाही भोग्ने?,’ पौडेलले भन्नुभयो।

पौडेलले उम्मेदवारी दिएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले फोन गरेर फिर्ता लिन अनुरोध गर्नुभएको थियो ।पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठले घरमै गएर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । फिर्ता नभएपछि उहाँलगायतका चितवन कांग्रेसका पुराना नेता कार्यकर्ता कारबाहीमा पर्नुभएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार