गठबन्धनको विरोध गर्ने एमालेले दोबाटेसँग पनि तालमेल गर्यो : बाँनिया

मकवानपुर ।नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले गठबन्धनको विरोध गर्ने नेकपा एमालेले स्थानीय तह निर्वाचनमा दोबाटेसँग पनि गठबन्धन गरेको आरोप लगाउनुभएको छ ।

उहाँले शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशन बैठकलाई सम्बोधन गर्दै सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जोसँग पनि चुनावी तालमेल गरेको आरोप लगाउनुभयो । संसदमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘भन्नलाई हामी एक्लै लड्यौ भनेका छौं ।

तर, नौवटा दल मिलेको सबैलाई थाहा छ । कतै कमल थापा, कतै राजेन्द्र लिङ्देनसँग मिलेको हामीलाई थाहा नै छ । गठबन्धन गर्ने पार्टी नै नपाएपछि दोबाटेसँग पनि एमालेले तालमेल गर्यो । उहाँले एमालेको बोली र व्यवहार ठिक नभएका कारण अहिलेको अवस्था सिर्जना भएको बताउनुभयो । संघ र प्रदेश सरकार चार वर्ष सञ्चालन गर्दा एमालेले जनताप्रति इमानदार भएर काम नगरेका कारण जनताले गठबन्धन रोजेको उहाँको भनाइ छ ।

‘गठबन्धनमा रहेका भर्खरै बनेको दलले पनि महानगरको नेतृत्व पाएको छ’ उहाँले भन्नुभयो, ‘धेरै बोल्ने, कुरो धेरै गर्ने, काम नगर्ने र जनताप्रति उत्तरदायी नभएका कारण जनताले एमालेलाई भोट दिएनन् ।’ उहाँले विगतमा ४ वर्ष सरकारको नेतृत्व गरेको एमालेले काम गर्न नसकेका कारण निर्वाचनमा पराजित हुनुपरेको बताउनुभयो ।

एमालेले सरकारको नेतृत्वमा बस्दा बोल्ने मात्र काम गरेको उहाँले बताउनुभयो । उहाँले गठबन्धनको सरकार आए लगत्तै जनताको काम र सेवा गर्नमा प्रतिस्पर्धा गरेको दावी गर्नुभयो । गठबन्धन सरकारले स्थानीय निर्वाचन धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सफल भएको दावी गर्नुभयो । स्थानीय निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा केन्द्र सरकारलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार