तारा एयर जहाज दुर्घटना : सवार सबैको मृत्यु

म्याग्दी । आइतबार बिहानदेखी हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका-२ ,कोबाङ स्थित मानापाथी हिमालको खोच सानोसरेमा बिमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

घटना स्थलमा खटिनुभएका एक प्रहरीका अनुसार जहाजमा सवार चालक दलका तीन सदस्य र १९ यात्रु सबैको मृत्यु भएको छ । अहिले नेपाली सेना, प्रहरी र  घटनास्थलमा पुगेका स्थानीयको टोलीले शव संकलन गरिरहेको छ।घटनास्थलमा रहनुभएका स्थानीय ईन्द्रसिङ शेरचनले घटनास्थलमा कोही पनि जिवित नभेटिएको बताउनुभएको छ ।

उहाँले म्याग्दी न्युजडटकम संग भन्नुभयो, ‘यहाँ १०-१२ वटा शव भेटिएका छन्। शव डढेको छैन्, चिनिने अवस्थामा छन् । शवहरुलाई संकलन गरेर निकाल्ने प्रयास भइरहेको छ,’ उहाँले भन्नुभयो , ‘यहाँको अवस्था भयावह छ। जोमसोमबाट खटिनुभएका प्रहरी निरिक्षक सर र नेपाल आर्मीका एक जना छौं।’

आइतबार बिहान १०:१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। जहाजमा चालक दलका ३ सदस्य, यात्रुहरु दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली थिए।

जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो। जहाजमा पाइलट प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा थिए। जहाजमा दुई जर्मन नागरिक वी विलनर  र मेइक ग्रिटग्राफ थिए। साथै भारतीय नागरिक बान्देकर वैसवी,अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका  त्रिपाठीसमेत सोही जहाजमा थिए।

यस्तै,जहाजमा नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ,  रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ।

बेपत्ता भएको जहाज समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा दुर्घटना भएको थियो। थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका स्थानीयले सोमबार दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटेका हुन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार