एनआरटीले मलेसियामा टीवाईटी कप खेल्ने

काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम एनआरटीले मलेसियामा हुने टीवाईटी कप फुटबलमा भाग लिने भएको छ । सोमबार बेलुकी ७ बजे मलेसिया प्रस्थान गर्ने टोलीलाई क्लबले बिदाइ गरेको छ । क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले तयारी राम्रो गरेको भन्दै जितको शुभकामनासहित टिमलाई बिदाइ गरेका छन् ।

मलेसियामा टीवाईटी कपमा दुई खेल खेलेपछि टोलीले थाईल्यान्डमा गएर ३ वटा मैत्रीपूर्ण खेल खेल्ने छ । टोलीले २८ जुनदेखि २ जुलाईसम्म मलेसियामा हुने टीवाइटी कपमा प्रतिस्पर्धा गर्नेछ । टीवाइटी कपमा एनआरटीले मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग २ क्लब कारोसँग प्रतिस्पर्धा गर्नेछन् । एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङसँग प्रतिस्पर्धा गर्नेछ ।

लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुंगो लाग्ने छ । पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट अर्थात नेपाली रुपैयाँ लगभग २ लाख ८५ पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट अर्थात नेपाली रुपैयाँ लगभग १ लाख ८२ हजार पुरस्कार जित्नेछ ।

एनआरटीले मलेसिया र थाइल्याण्ड भ्रमणकै लागि विभिन्न क्लबका ९ खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ । एनआरटीले समेटेको टोलीमा मछिन्द्रका विशाल श्रेष्ठ र रेजिन सुब्बा सँगै छिरिङ गुरुङ छन् । थ्री स्टारका सन्जोक राई, च्यासलका रुमेश बर्तौला, संकटाका सुवास गुरुङ, जावलाखेलका निकोलस फर्नान्डेस र गौरव श्रेष्ठ छन् ।

यस्तै नयाँ खेलाडीको रुपमा गोलरक्षक जि टोलो लुन्ड्री रहेका छन् । पुजन होना, दिपेश घले, मेसुके ओलोमोउ, स्टेफन समिर विनोङ, शिव गुरुङ, सरोज तामाङ, अशोक थापा मगरलाई टोलीमा निरन्तरता दिदा राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ र एरिक विष्ट टोलीमा छैनन् ।टोलीको प्रशिक्षण ‘ए’ लाइसेन्स प्राप्त युवा प्रशिक्षक जीवन सिन्केमानले सम्हालिरहेका छन् । उनले गत सिजन क्लबको सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार