खाने तेलमा वैदेशिक व्यापार : ११ महिनामा २० अर्ब ४३ करोड घाटा

काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा खानेतेलको वैदेशिक व्यापारमा नेपालले २० अर्ब ४३ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअनुसार ११ महिनाको अवधिमा तेलको आयात–निर्यातको व्यापारमा उक्त व्यापार घाटा भएको हो । नेपाली उद्योगीरव्यवसायीले विदेशबाट कच्चा खानेतेल ल्याएर प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आइरहेका छन् ।

नेपालमा भारतीय बजारलाई लक्षित गरेर २० वटाभन्दा धेरै खानेतेल प्रशोधन गर्ने उद्योगहरू सञ्चालनमा छन् । ती उद्योगले इण्डोनेशिया, मलेसिया, ब्राजिल, अर्जेन्टिना र बोलिभिया तथा भेनेजुयला लगायतका मुलुकबाट कच्चा तेल आयात गर्ने गर्छन् । इण्डोनेशिया र मलेसियाबाट कच्चा पाम तेल आउँछ भने दक्षिण अमेरिकी मुलुकबाट कच्चा तोरी, भटमास र सूर्यमुखीको तेल आयात हुन्छ । जसलाई प्रशोधनपछि प्याकेजिङ गरेर भारततर्फको बजारमा निर्यात गर्ने गरिन्छ ।

यसअघि, युक्रेनबाट समेत नेपालमा तोरी, भटमास र सूर्यमुखीको कच्चा तेल आयात हुन्थ्यो । तर, छिमेकी मुलुक रुसले सैन्य हमला गरेपछि भने युक्रेनबाट नेपाल आउने तेलको परिमाण घटेको छ । यस्तै, छिमेकी मुलुकसँगको द्वन्द्वमा फसेपछि रुसबाट आउने कच्चा खानेतेलको परिमाण समेत घटेको विभागको तथ्यांकले देखाएको छ । तर, यसरी नेपालमा उत्पादन नै नहुने वस्तुको कच्चा पदार्थ ल्याएर बाहिरी मुलुकमा निर्यात गर्दा नेपालले उल्टो घाटा ब्यहोरिरहेका तथ्यांक विभागले सार्वजनिक गरेको छ ।

११ महिनाको अवधिमा नेपालले विभिन्न मुलुकबाट १ खर्ब १० अर्ब ५६ करोड रुपैयाँको कच्चा तेल आयात गरेको छ । जसमध्ये, ५३ अर्ब २५ करोड रुपैयाँको भटमास तेल, ३९ अर्ब ५९ करोड रुपैयाँको पाम तेल र १७ अर्ब ७२ करोडको सूर्यमुखी तेल आयात भएको छ । यी सबै तेलको कुल परिमाण जोड्दा १ खर्ब १० अर्बभन्दा धेरै हुन आउँछ । र, आयात भएको कुल वस्तुमध्ये ९० अर्ब १३ करोड रुपैयाँको मात्रै भारततर्फ निर्यात भएको छ ।

विभागको पछिल्लो तथ्यांकअनुसार ११ महिनाको अवधिमा नेपालबाट सबैभन्दा धेरै भटमास तेल निर्यात भएको छ । नेपालबाट यस अवधिमा ४६ अर्ब ५८ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ भने ३९ अर्ब १० करोड रुपैयाँको पाम तेल निर्यात गरेको छ । यस्तै, यस अवधिमा जम्मा ४ अर्ब ४५ करोड रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ ।यसरी, चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिना (साउन–जेठ) सम्मको अवधिमा नेपालले खानेतेलको व्यापारमा २० अर्ब रुपैयाँभन्दा धेरैको घाटा ब्यहोरेको तथ्यांकले देखाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार