गैरसांसदलाई मन्त्री बनाउने अध्यक्ष ठाकुरको प्रस्ताव

काठमाडौँ । वर्तमान सरकारमा सहभागी हुने निश्चित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गैर सांसदलाई मन्त्री पठाउने तयारी गरेको छ । कसलाई मन्त्री पठाउने विषयमा आन्तरिक छलफल चलिरहेको बेला अध्यक्ष महन्थ ठाकुरले गैरसांसदलाई सरकारमा पठाउने प्रस्ताव गरेको लोसपा स्रोतले बताएको छ ।

यद्यपि, अधिकांश सांसद तथा नेताहरू अध्यक्ष ठाकुरको प्रस्तावको विपक्षमा रहेका छन् । कार्यकारिणी सदस्य एवं सांसदहरू शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तवलगायत नेताहरू पार्टीका सांसदहरू मध्येबाट नै मन्त्रीमा जानुपर्ने पक्षमा छन् । शीर्ष नेताहरू चुनावको तयारीमा लाग्नुपर्ने भएकाले सांसद र शीर्ष नेतालाई मन्त्रीमा नपठाउने तथा सरकारमा जानै पर्ने भए गैरसांसदलाई पठाउने अध्यक्ष ठाकुरको प्रस्ताव रहेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवा लोसपालाई दुईवटा मन्त्री दिन तयारहुनुभएके छ । लोसपाले भने चारवटा मन्त्रालय दाबी गरेको थियो । तर लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया सरकारमा जाने विषयमा हालसम्म कुनै निर्णय नभएको बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री देउवासँगको भेटमा हाम्रो पाटीका अध्यक्षले सरकारको विषयमा कुनै कुराकानी गर्नुभएको छैन, यता पार्टीमा पनि कुनै छलफल छैन ।’

​लोसपाले आफ्नो माग पुरा गराउनका लागि भोलि प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउन लागेको बताउँदै नेता अरगरियाले आफूहरुको माग पूरा भए मात्र सरकारको विषयमा छलफल हुने बताउनुभयो । लोसपा सरकारमा जानुअघि प्रधानमन्त्री देउवाले मधेसका केही मागहरू पूरा गर्नुपर्ने हुन्छ । स्रोत भन्छ, ‘त्यसैका लागि लोसपाले भोलि ज्ञापनपत्र बुझाउन लागेको हो । ज्ञापनपत्र बुझाएपछि त्यसमा उल्लेख भएको मागमध्ये प्रधानमन्त्री देउवाले केही माग सम्बोधन गरेपछि लोसपा सरकारमा जान्छ ।’ ज्ञापनपत्रको तयारीमा लोसपाका कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र केशव झा लाग्नुभएको छ ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार