प्रचण्ड-माधव र उपेन्द्रसँग देउवाले भने : नेपाललाई आघात पुग्ने सम्झौतामा हस्ताक्षर गर्दिनँ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हितमा आघात पुग्ने वा रणनीतिक महत्वका कुनै सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताउनुभएको छ । आज बालुवाटारमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्दै देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रष्टाउनुभएको हो ।

‘आज बालुवाटारमा प्रचण्ड, म, उपेन्द्र यादव बीचमा प्रधानमन्त्रीजीले स्पष्ट कुरा गर्नुभएको छ- नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको सम्झौतामा हस्ताक्षर हुने काम मबाट हुँदैन भनेर,’ पार्टीका नेताहरूलाई बिहान भएको छलफलबारे बताउँदै अध्यक्ष नेपालले भन्नुभयो । देउवाले एसपिपीजस्ता सम्झौतामा अरू कुनै देशले चासो राखे वा कसैले दबाब दिए भने पनि आफूले नमान्ने बताएको नेपाल बताउँछन्।‘अरू देशहरूले पनि यसबारे चासो राख्दाखेरि वा कसैले भने पनि म मान्नेवाला छैन भनेर प्रधानमन्त्रीले क्लियर भन्नुभएको छ,’ नेपालले भन्नुभयो, ‘यस्तो सम्झौता गरिँदैन, हुँदैन भन्नुभएको छ।’

साथै एसपिपीजस्ता सम्झौता अघि बढाउन अमेरिकाले दबाब नदिएको पनि अध्यक्ष नेपालले बताउनुभयो । ‘अमेरिकाले सम्झौता गरोस् भनेर दबाब परेको पनि छैन,’ नेपालले भन्नुभयो । अध्यक्ष नेपालले देश हितमा कुनै सम्झौताका प्रस्ताव छ कि छैन भनेर जनताका साथै राजनीतिक दलले पनि चासो राख्नुपर्ने बताउनुभयो । उहाँले एसपिपीबारे भ्रममा नपर्न र कुनै बुझ्नुपर्ने भए सिधै प्रधानमन्त्री देउवासँग कुराकानी गर्न सकिने पार्टीका नेताहरूसँग बताउनुभएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार