सरकारको विशेषाधिकारलाई कटौती नगरियोस् श्रीमान : महान्यायाधिवक्ता खाती

काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सरकारले विशेषाधिकार प्रयोग गरेर आईजीपी नियुक्ति गरेको बताउनुभएको छ । उहाँले सबै एआईजीहरु आईजीपी बन्न योग्य भएपनि सरकारले प्रहरी नियमावलीमा भएको ६ आधार र विशेषाधिकार प्रयोग गरेर धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको बताउनुभयो ।

‘प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्न सक्ने र आफूभन्दा मुनिकालाई प्रोत्साहन गर्न सक्नेसहित प्रहरी नियमावलीको नियम ४१ अनुसार ६ आधार भएकालाई सरकारले आईजीपी बनाउने हो’, आईजीपी नियुक्तिविरुद्ध विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइमा उहाँले इजलासमा भन्नुभयो, ‘आईजीपी नियुक्ति सरकारको विशेषाधिकार हो । नियमसंगत नै बढुवा गरिएको हो ।’

विश्वराज पोखरेलका वकिलहरूले जेष्ठताका आधारमा उनी नै हुनुपर्ने जिकिर गरेकोप्रति जवाफ दिँदै उहाँले जेष्ठता नै आईजीपी नियुक्तिको उपयुक्त आधार नठहरिन सक्ने जिकिर गर्नुभयो । वैशाख १७ मा सरकारले गरेको निर्णय ठीक भएको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘सरकारको विशेषधिकारलाई अदालतले कटौती गर्न मिल्दैन श्रीमान ।’

यस्तै पोखरेलको रिट उपर सहन्यायाधिवक्ता खेमराज ज्ञवाली र सोमकान्त भण्डारीले पनि बहस गर्नुभएको थियो । अहिले अन्य सरकारी वकिलकै बहस चलिरहेको छ भने त्यसपछि आईजीपी धीरजप्रताप सिंहका निजी वकिलको बहस हुनेछ । उनीहरुको बहसपछि पोखरेलका वकिलले जवाफ दिने काम हुने र सुनुवाइ सकिनेछ । आईजीपी नियुक्ति विरुद्धको मुद्दा न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा भइरहेको हो। रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार