सूर्यनारायण पुरस्कार संस्थाबाट बेनीका दुईजना सम्मानित (तस्बिरसहित)

बेनी । श्री सूर्यनारायण पुरस्कार संस्था बेनीबजार, म्याग्दीको आयोजनामा हिजो (शनिवार) सदरमुकाम बेनीमा घोषणा एवं समर्पण कार्यक्रम सम्पन्न भएको छ । सूर्यनारायण पुरस्कार संस्थाको १६औं श्रृङ्खला–२०७६ र १७औं श्रृङ्खला–२०७८ बाट बेनीका दुई जनालाई सम्मान गरिएको हो ।

बेनीका कलाकारद्वय तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई श्री सूर्यनारायण पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ । उहाँहरुलाई जनही २० हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको थियो । बेनीका स्वर्गीय सूर्यनारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारद्वारा स्थापित संस्था सूर्यनारायण पुरस्कार संस्थाले कला, संस्कृति र साहित्यमा पु¥याएको योगदानको कदरस्वरुप पुरस्कृत गरिएको जनाएको छ ।

संस्थाले हरेक दुईदुई वर्षमा नेपाली लोक, संस्कृति, कला र साहित्यको क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई पुरस्कार दिँदै आएको छ । कार्यक्रमको उद्घाटन तथा पुरस्कार प्रदान गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्व. सूर्यनारायण श्रेष्ठले कला, संस्कृतिसँगै समाज रुपमान्तरणमा खेलेको भूमिकाको विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय श्रेष्ठले लोकभजन प्रस्तुत गर्नुभएको थियो भने कलाकार सञ्जयकुमार श्रेष्ठको टोलीले स्वं सूर्यनारायणको जीवनबारे गीत प्रस्तुत गरेको थियो ।

संस्थाले २०४९ सालदेखि हालसम्म विभिन्न १७ जना व्यक्तित्वहरुलाई सम्मान गरिसकेको जानकारी दिएको छ । सोही अवसरमा सूर्यनारायण पुरस्कार संस्थाद्वारा प्रकाशित गंगा नामक संस्थाको बुलेटिन विमोचन गरिएको थियो । कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक एवं नेपाल भाषा मंकाः खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र साहित्यकार ध्रुवलाल शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम श्री सूर्यनारायण पुरस्कार संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठको अध्यक्षता, संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठको स्वागत र सचिव अजयमिलन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि र व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार