काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्छ : श्रेष्ठ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले काठमाडौं वासी नै प्रधानमन्त्री र महत्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारको ध्यान राजधानी बनाउने कुराहरुमा जान नसकेको पनि बताउनुभयो । सांसद श्रेष्ठले काठमाडौंलाई बस्न, घुम्न, हेर्न र हिँडडुल गर्न सक्ने राजधानी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौं जस्तो सांस्कृतिक शहरलाई मौलिकता कायम गर्ने गरी विकासका योजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

‘राजधानीलाई बनाउने कुरामा एकीकृत ढंगबाट योजना ल्याउने, देशका पूर्वाधार गर्ने कुराहरु गर्नुपर्छ । आजपनि राजधानीको बीच सडकमा पानी जम्ने, घरभित्र पानी पस्ने, जसले जनजीवन अस्तव्यस्त बनाइरहेको छ ।’ उहाँले भन्नुभयो, ‘राजधानीमा ५ मिनेट हिँडेर घुमौँ भन्ने वातावरण छैन । हामी समृद्धिका कुरा गरिरहेका छौँ । तर आज राजधानी बनाउने कुरा गर्दैनौँ भने हाम्रो देश बनाएका छौँ भनेर कसैलाई पनि भन्न सक्दैनौँ ।’सांसद श्रेष्ठले काठमाडौंमा र्‍यापिट ट्रान्जिट खालका बसको सिस्टम अघि बढाउन पनि सरकारसँग आग्रह गर्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार