मन्त्री माग्दै जसपाका आधा दर्जन सांसदहरूको छुट्टै भेला

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा लफडा सुरु भएको छ । पार्टीभित्र मन्त्री हेरफेर गर्ने तयारीका बीच आकाङ्क्षीहरू बढ्दै गर्दा आधा दर्जन नेता तथा सांसदहरूले छुट्टै भेला आयोजना गरेका छन् ।

अध्यक्ष उपेन्द्र यादवलाई आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्यका साथ पार्टीका आधा दर्जन सांसदहरूले छुट्टै भेला गरेका हुन् । यसरी भेला गर्नेमा जसपाका प्रभावशाली नेता इस्तियाक राईसहितका नेताहरू रहेका छन् । स्रोतका अनुसार राईसहित मिर्गेन्द नारायण यादव, रामबाबु कुमार यादव, प्रमोद यादव, डा सूर्य नारायण यादव, प्रमिला यादवलगायतको टीम रहेको छ ।

उनीहरू सोमबार बिहान ९ बजेपछि छलफलमा बस्न लागेको स्रोतका भनाइ छ । राजधानीको एक होटलमा छलफलका लागि खबर आएको भन्दै एक नेताले छलफलबाट मन्त्री बनाउनका लागि अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिइने बताए । ‘हामी छुट्टै भेलामा छौँ, यो परिस्थिति त अचानक भयो नि’, उनले भने, ‘सांसद तथा कार्यकारी सदस्यमा रहेका साथीहरू छलफलमा छौँ, उपयुक्त निष्कर्ष निकालिन्छ ।’

उल्लेखित नेता तथा सांसदहरू यसअघि पनि उपेन्द्र यादवले मन्त्री नबनाएको भन्दै बाबुराम भट्टराई पक्षतिर लागेका थिए । त्यतिबेला यादव पार्टीमा अल्पमतमा समेत परेका थिए । अहिले ती सबै मन्त्री बनाउन माग गर्दै मोर्चाबन्दीमा लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल हेरफेरको तयारी थालेका छन् ।

एकीकृत समाजवादीले हाल रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ भने जसपाले पनि मन्त्री हेरफेरको लागि छलफल थालेकै बेला पार्टीभित्र आन्तरिक समस्या देखिएको छ । यसो त देउवाले लोसपालाई समेत सरकारमा सहभागी गराउन खोजेपछि उपेन्द्रमा तनावको पारो तातेको छ।जसपामा सरकारमा सहभागिताको विषयमा खासै विवाद नहुने भए पनि मन्त्रीको विषयमा मारामार हुँदै आएको छ । सरकारमा सहभागिताको विषयलाई लिएर विगतमा मधेस केन्द्रीय पार्टीहरू विभाजित समेत बनेका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार