गगन थापाको सुझाव : सार्वजनिक पद धारण गरेकाले यौनहिंसा गरेमा थप २ वर्ष कैद सजाय दिऔं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यौनहिंसा गरेको भए कम्तिमा पनि दुई वर्ष बढी कैद सजाय गर्नुपर्ने सुझाव दिनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा भाग लिंदै थापाले सो सुझाव दिनुभएको हो ।‘दफा २२७ को पछाडि जुन थप्ने भनिएको छ, सार्वजनिक पद धारण गरेकोले यदि पीडितहरुले धम्काउने, प्रलोभनमा पार्ने कुरा गर्दा ६ महिना बढी कैद भनिएको छ, यसलाई कम्तिमा पनि दुई वर्ष बनाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

गएको स्थानीय सरकारमा निर्वाचित भएका कतिपय जनप्रतिनिधिहरु र त्योभन्दा अरु जनप्रतिनिधिहरू पनि यस्तो काममा संलग्न भएको देखेको बताउँदै थापाले कैद सजायको अवधि बढाउनुपर्ने सुझाव दिनुभएको हो । विधेयकमा सार्वजनिक पद धारण गरेका व्यक्तिले यौन हिंसा गरेको भए थप ६ महिना कैद सजाय हुने उल्लेख छ ।

बलात्कृत भएको पीडितलाई गर्भपतन गराउने समयको सन्दर्भमा र उमेरको आधारमा जुन सजाय तोकिएको छ, उमेर मात्र होइन, अवस्था र प्रकृतिको आधारमा थप्नुपर्ने उहाँले सुझाव दिनुभयो । यसैगरी चाँद तारा कुमारीले पीडितले उजुरी दिने हदम्याद हटाउनुपर्ने धारणा राखिन् । उहाँले पुरुषले छुँदैमा हिंसा मान्नुभन्दा उसको नियत के थियो भनेर पनि हेर्नुपर्ने बताउनुभयो। अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार