माओवादी मन्त्री फेर्ने तयारीमा छैन : शक्ति बस्नेत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले पार्टीबाट मन्त्री फेर्ने तयारी नभएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा) मा समेत मन्त्री फिर्ता बोलाउने प्रेसर बढाए पनि माओवादीमा भने कुनै प्रेसर नभएको बस्नेतले बताउनुभयो ।

‘आगामी आर्थिक वर्षको बजेट भर्खरै आएको छ । त्यहीँ बजेटलाई कार्यन्वयन गरेर जाँदा प्रभावकारी काम हुन्छ । तत्काल मन्त्री फेर्दा काम पनि धेरै हुन पाउँदैन’  बस्नेतले भन्नुभयो, ‘अब ५/६ महिनामै प्रदेश र संघको चुनाव गर्नुपर्नेछ । त्यसैले तत्काल मन्त्री फेर्ने चक्करमा छैनौ । अध्यक्ष प्रचण्ड पनि मन्त्री फेर्ने पक्षमा हुनुहुन्न । सांसदहरुले मन्त्री हुनुपर्यो भनेर दबाब पनि दिएका छैनन् ।’ अहिलेकै मन्त्रीहरुको सेटले चुनावसम्म ढुक्कसँग काम गर्ने बस्नेतले बताउनुभयो ।

‘एकीकृत समाजवादी र जसपामा मन्त्री फेर्ने भन्ने कुरा थियो । त्यहीँ मानसिकताका साथ सरकारमा जानुभयो’ बस्नेतले भन्नुभयो, ‘तर, माओवादीमा त्यस्तो केही भनिएको थिएन । अहिलेकै मन्त्रीको सेटले चुनावसम्म चलाउनुहुन्छ ।’ मन्त्रीले गर्ने राम्रारनराम्रा कामको समीक्षा भने हुने बस्नेतले बताउनुभयो । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा उर्जा मन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल, खेलकुद मन्त्री महेश्वरजंग गहतराज, भूमिसुधार मन्त्री शशी श्रेष्ठ र शिक्षा राज्यमन्त्रीमा बोधमाया यादव हुनुहुन्छ ।

यसअघि पार्टी अध्यक्ष प्रचण्डले पनि तत्काल मन्त्री हेरफेर नहुने बताउनुभएको थियो । ‘हामीले अहिले मन्त्री फेर्ने सोचेका छैनौ, अब छिट्टै संघ र प्रदेशको चुनाव पनि आउँदैछ, यही मन्त्रीहरुको सेटलाई नै निरन्तरता दिने सोचेका छौं’ प्रचण्डले भन्नुभयो, ‘तर प्रधानमन्त्रीजीले मन्त्री फेर्ने विषयमा कसरी सोच्नुभएको छ थाहा छैन कुरा पनि हुन पाएको छैन ।’ रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार