फोहोरलाई अर्थोपार्जन र समृद्धिसँग जोड्ने पहल गरौं : पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौंको फोहर व्यवस्थापनमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । यसले पार्ने वातावरणीय प्रभावको असरबाट कोही पनि मुक्त हुन नसक्ने भन्दै उहाँले महानगरको फोहोरको समस्या सबैको साझा समस्या भएको बताउनुभएको छ । नेता पौडेलले स्थानीयवासीसँग भएका सम्झौताहरु पालना गर्न र उनीहरुको माग र समस्याहरूको समाधान गर्न पनि आग्रह गर्नुभएको छ ।

‘फोहर व्यवस्थापनमा जसले जहाँबाट जति सकिन्छ सहयोग गरौं । फोहोरको प्रकृति हेरेर वर्गिकरण गरौं। यो हाम्रा लागि हामीले गर्नुपर्ने काम हो’, उहाँले भन्नुभएको छ, ‘त्यसैगरि, फोहर व्यवस्थापन स्थलका स्थानीयहरुको माग र समस्याहरूको समाधान गरौं, उहाँहरूसँगको सम्झौताहरु पालना गरौं।’नेता पौडेलले फोहोर माथिको राजनीति र अर्थशास्त्र पनि उत्तिकै डरलाग्दो रहेको ठहर गर्नुभएको छ । त्यसैले यसका विविध आयामहरूको अध्ययन गर्दै फोहोरलाई अर्थोपार्जन र सम्बृद्धिसँग पनि जोड्ने पहल गर्न सुझाउनुभएको छ ।

‘उदाहरणको लागि प्लास्टिकको प्रयोग विभिन्न उपायले गर्न सकिएला, कुहिने वस्तुहरुलाई मल र उर्जामा रुपान्तरण गर्न सकिएला, धातु र कागज लगायतका वस्तुलाई पुनर्उपयोग गर्न सकिएला’, उहाँले भन्नुभएको छ, ‘फोहर भित्रका यी सकारात्मक पक्ष तथा यसको दीर्घकालिन समाधानका विषयमा काठमाडौं महानगर तथा सहरी विकास मन्त्रालय दुवै सकरात्मक देखिएका छन् । हामी सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेको खण्डमा अवश्य नै यो अभियानले सार्थकता पनि पाउनेछ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार