वर्तमान सरकारको छिमेक नीति ठीक भएन : ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग वर्तमान सरकारको नीति ठीक नभएको टिप्पणी गर्नुभएको छ ।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उहाँले भन्नुभयो, ‘बीआरआई अनुदान पाए लिने नत्र नलिने । सित्तैमा पार अलकत्रा खाने ? चीनसँग वर्तमान सरकारको नीति ठिक भएन ।’ ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्ने उहाँको धारणा छ ।

‘हामीले कुनै सहायता सित्तैमा पाइए पनि लिनु हुँदैन तर, आवश्यकता पर्‍यो भने ऋण पनि लिने हाम्रो नीति हो,’ उहाँले भन्नुभयो । तिब्बत मामिला हेर्ने अमेरिकी मन्त्रीलाई किन बोलाएको भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘उहाँ अरू पनि विषय हेर्नुहुन्छ होला तर छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामीले गर्दैछौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ,’ उहाँले भन्नुभयो, ‘समग्रमा भन्दा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक भइरहेको छैन ।’

राजदूत पठाउने विषयमा पनि कुनै देशमा तुरुन्तै र कुनै देशमा नपठाए पनि हुन्छ जस्तो गरिएको भन्दै उहाँले सरकारको कार्यशैलीको आलोचना गर्नुभयो । भारतले हडपेको कालापानी लगायतका भूमि फिर्ता लिन सरकारले चासो नदिएको तर समस्या नै नभएको चीनसँगको सीमाबारे अध्ययन गरेको भन्दै ज्ञवालीले उक्त अध्ययनको नतिजा के आयो भनेर प्रश्न गर्नुभयो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार