दुर्गम खाम्लामा सडक पुग्यो

म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक खोलेसँगै दुर्गम गाउँमा सडक पुगेको हो ।

मुदीमा निर्माण हुने ५३ मेगावाट क्षमताको अपरम्याग्दी एक, ३७ मेगावाटको अपरम्याग्दी र ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावर लिमिटेडले संयुक्त रुपमा खारादेखि खाम्ला हुँदै मुदीको नुनथलासम्म सडक निर्माण गरेको छ । सडक निर्माण भएसँगै दुर्गम वस्ती नाउरा र खाम्लाबासीले सडक सुविधाको उपयोग गर्न पाएका छन् । सडक निर्माण भएपछि सहज भएको खाम्लाबासीको भनाई छ । सडक निर्माणले धौलागिरी हिमाल आरोहण गर्न आउने पर्वतारोहीलाई समेत थप सुविधा पुगेको छ ।

जलविद्युत कम्पनीहरुले सडक निर्माण गरेपछि दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगराका स्थानीयवासीहरु लाभान्वित भएको धबलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले बताउनुभयो । यस क्षेत्रमा निर्माण हुन लागेका जलविद्युत आयोजनालाई आफ्नो कार्यकालमा काम गर्ने वातावरण तयार पारिदिएका कारण दुर्गम भेगमा सडक विस्तार भएको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार खाम्लामा पुगेको सडक नाउरा हुँदै दुर्गम बगरादेखि धौलागिरि बेसक्याम्प जाने जेल्टुङ हुँदै दोभानसम्म पुग्नेछ । नाउरादेखि माथिको सडक अपरम्याग्दी र म्याग्दी हाइड्रोपावरले निर्माण गर्ने जलविद्युत कम्पनीले जनाएको छ ।

मुदीको जेल्टुङमा अपरम्याग्दी ५३ मेगावाट र दोभान भन्ने स्थानमा म्याग्दी हाइड्रोपावरले ५७ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएका छन् । खाम्लामा पुगेको सडकलाई खिबाङसम्म पु¥याउन पालिका र प्रदेश सरकार गरी एक करोड ३३ लाख रुपियाँले सडक खन्ने काम भएको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार