काठमाडौँ । पुँजी बजारको सुधारको माग राख्दै विगत ९ दिनदेखि अनसनरत तिलक कोइरालाले अझैं अनसन जारी राखेका छन् । बुधबार एक पत्र पठाउँदै धितोपत्र बोर्डले समस्या समाधानका लागि तत्काल लगानीको समेत सहभागितामा एक समिति गठन गरिने बताए पनि कोइरालाले अनसन तोड्न मानेका छैनन् ।
बोर्डको उक्त पत्रको प्रतिउत्तर दिँदै कोइरालाले पहिला पुँजी बजार सुधार संघर्ष समितिमार्फत आफुहरुले उठाएको १९ बुँदे मागको समाधानका लागि बोर्डले ग्यारेन्टी गर्नुपर्ने अनि मात्र आफुले अनसन तोड्ने जवाफ दिएका छन् । साथै आफ्नो अनसन भन्दा पहिला बोर्डले पुँजी बजार समस्या समाधान समिति गठन गर्नुपर्ने र सो समितिमा कोको रहने भन्ने कुरा लगानीकर्ताले नै छनोट गर्न पाउनुपर्ने उनको माग छ ।
बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संघर्ष समितिको नाममा एक पत्र लेख्दै बोर्डका तर्फबाट कामु कार्यकारी निर्देशक विजय देव आचार्य र कामु कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ सहित पुँजीबजार सुधार संघर्ष समितिबाट २ जना विज्ञ प्रतिनिधिको समेत सहभागितामा नेपाल सरकारबाट मान्यता प्राप्त लगानीकर्ता संघका एक/एक जना गरी ५ जनाको समिति गठन गरिने बताएको थियो । तर, यसका लागि पहिला अनसन तोडेर आउन बोर्डले भनेको थियो ।तर यता बोर्डले उधारो सहमति गराएर लगानीकर्ताहरुको आन्दोलन तुहाउन खोजेको भन्दै कोइरालाले पहिला समस्या समाधान त्यसपछि मात्र आफुले अनसन तोड्ने बताएका छन् । रातोपाटीबाट