आज पार्टी शिलान्यास गरेँ, उद्घाटन गर्ने बेला नेपाल चकित हुनेछ : गौतम

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका वामदेव गौतमले अबका तीन महिनासम्म कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउन पहल गर्ने बताउनुभएको छ । तीन महिना पहल गर्दा पनि कम्युनिष्टहरू एक ठाउँमा उभिने अवस्था आएन भने पार्टी अघि बढ्ने उहाँले बताउनुभयो ।

‘आज पार्टी शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ,’ पार्टी घोषणा गर्न आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गौतमले भन्नुभयो । यो पार्टीको संयोजकमा वामदेव छन् । सचिवमा डिबी कार्की हुनुहुन्छ । सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल हुनुहुन्छ । पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय छ। १५ जना सदस्य नबढ्ने गरी स्थायी कमिटी गठन गरिने गौतम बताउँनुहुन्छ ।

पार्टीमा एक अध्यक्ष, सातै प्रदेशमा इन्चार्ज, प्रदेश उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र सचिव रहने पनि गौतमले बताउनुभएको छ । पार्टी घोषणा कार्यक्रममा बोल्दै गौतमले कम्युनिष्टहरू नमिले अबको चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गर्नुभएको छ । गठबन्धन गरे पनि नगरे पनि कांग्रेसले अबको चुनावमा बहुमत ल्याउने देखिएकोले कम्युनिष्टहरू एक हुनुपर्ने तर्क उहाँको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार