जेलमा रहेका रेशम चौधरीलाई गठबन्धनमा ल्याउन शीर्ष नेताहरुको कसरत

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद रेशम चौधरी टीकापुर घटनाको आरोपमा जेलमा हुनुहुन्छ । उहाँ जेलमा भए पनि राष्ट्रिय राजनीतिमा एक खालको चर्चामै रहनुहुन्छ । जसपा विभाजनको शृङ्खला होस् या आफ्नै पार्टी गठनको अवस्था होस्, उहाँ चर्चामै रहनुहुन्छ ।

पछिल्लो समय आफ्नो श्रीमतीको नाममा नागरिक उन्मुक्ति पार्टी खोलिसकेपछि उहाँको चर्चा थप चुलिएको छ । विभिन्न पार्टीका शीर्ष नेताहरु दिनहुँजसो उहाँलाई भेट्न जेलभित्र गइरहेका हुन्छन् । चुनावी गठबन्धनका लागि शीर्ष नेताहरु जेलमै गएर रेशम चौधरीसँग छलफल गर्न थालेका छन् । केही दिन अघि लोसपाका अध्यक्ष महन्थ ठाकुर उहहाँलाई भेट्न जेलमै जानुभएको थियो । रेशम चौधरीलाई उहाँले चुनावमा सहकार्यका लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

आफूले मुद्दा फिर्ता र जेलबाट रिहाइका लागि अझैसम्म लडिरहेको भन्दै ठाकुरले रेशम चौधरीसँग आगामी चुनावमा सहकार्यको प्रस्ताव गरेको स्रोतको भनाइ छ । तर लोसपाका नेता मनिष मिश्रले आफ्नो पार्टीका अध्यक्ष ठाकुर गठबन्धनका लागि नभएर रेशम चौधरीको रिहाइका लागि भएको संघर्षको अवस्था र प्रक्रियाका बारेमा छलफल गर्न गएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लोसपा रेशम चौधरीको रिहाइका लागि प्रयास गरिरहेको छ, त्यो प्रयास कहाँसम्म पुग्यो, त्यसको प्रकृया के के भइरहेको छ लगायतका विषयमा जानकारी दिन अध्यक्षजी रेशम चौधरीलाई भेट्न जेलमा जानु भएको थियो ।’रेशम चौधरीले अलग पार्टी बनाए पनि लोसपाले उहाँको रिहाइका लागि पहल गरिरहेको मिश्रको भनाइ छ । उहाँले भन्नुभयो, ‘रेशम चौधरी लोसपा (साविकको राजपा) मा हुँदा नै थुनामा परेका हुन्, त्यसैले रेशम चौधरीको रिहाइ नै लोसपाको दायित्व हो ।’

त्यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउत पनि रेशमलाई भेट्न जेलमै पुग्नुभएको थियो । उहाँले जनमत र उन्मुक्ति पार्टीबीच चुनावी गठबन्धनका लागि प्रस्ताव गरेको सो पार्टीका महासचिव चन्दन सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा पार्टीका अध्यक्ष राउतजी रेशम चौधरीलाई भेटेर सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ, त्यसमा रेशमजी सकारात्मक हुनुहुन्छ ।’

त्यसबाहेक, जसपाका नेताहरु पनि रेशम चौधरीलाई भेट्न जेलमा गइरहेका हुन्छन् । रेशम चौधरी निकट नेताहरुका अनुसार कहिलेकाहीँ काँग्रेस, माओवादी, एमालेका नेताहरु पनि भेट्न आइरहेका हुन्छन् । जेलमा सबभन्दा बढी राजनीतिक चहलपहल रेशम चौधरीकै हुन्छ । उहाँले आफ्नो पार्टीको सम्पूर्ण गतिविधि जेलबाटै सञ्चालन गरेका हुन्छन् । उहाँ दिनभर भेटघाटमै व्यस्त हुनुहुनछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार