असार मसान्तमा बजेट सक्ने परिपाटीको अन्त्य हुनुपर्छ : अनिता देवकोटा

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्तमा आएर सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै सांसद देवकोटाले आर्थिक वर्षको अन्त्यमा धमाधम विकास बजेटहरु खर्च गर्न थालिएको बताउनुभयो ।

उहाँले वर्षदिनसम्म काम नगरेर बजेट फ्रिज हुने बहानामा असारमा मात्रै खर्च गर्ने परिपाटीले विकासको गतिलाई तीब्रता दिन नसकिने र दिगो विकास नहुने भएकाले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले काम गर्ने अख्तियारी पाउनेले आर्थिक वर्षको शुरुमै काम गर्न र बजेट खर्च गर्न पाउने व्यवस्था गर्नसके असारमा मात्रै खर्च गर्ने प्रवृत्ति निरुत्साहित हुने बताउनुभयो ।

सांसद देवकोटाले खेतीको सिजनमा पनि मल नपाएकाले किसानहरु चिन्तित रहेको बताउनुभयो । उहाँले समयमै मल उपलब्ध गराउन सरकारको ध्यान जानु जरुरी रहेको बताउनुभयो । मल ल्याउने प्रक्रिया लामो भएकाले पनि मल आउन नसकेको उल्लेख गर्दै उहाँले फास्ट ट्रयाकबाट रासायनिक मल ल्याउनुपर्ने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार