अन्नपूर्णमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी

म्याग्दी ।हिमाली जिल्ला म्याग्दीका किशोरीहरुलाई आउँदो साउन महिनादेखि आइरन फोलिक एसिड चक्की खुवाइने भएको छ । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा बिहीबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा समीक्षा गरिएको थियो । विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमअन्तर्गत किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा समीक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले जानकारी दिनुभयो ।

कार्यक्रममा किशोरीहरुलाई आइरन चक्की खुवाउने विषयमा विगतमा सञ्चालित कार्यक्रमको प्रभावकारिता तथा अब सञ्चालन गर्न लागिएको कार्यक्रमको बारेमा अन्तत्र्रिmया र छलफल गरिएको थियो । विद्यालय जाने किशोरीहरुलाई विद्यालयमा, विद्यालयभन्दा बाहिर रहेका किशोरीहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यचौकीमार्फत आइरन चक्की खुवाउने कार्यक्रम रहेको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बरुवालले बताउनुभयो ।

यसैगरी सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । किशोरीहरुमा हुने रक्तअल्पताको रोकथाम गर्ने उद्देश्यसहित उनीहरुलाई आइरन चक्की खुवाउन लागिएको हो । एक आर्थिक वर्षको पहिलो चरणअन्तर्गत साउन–भदौ र असोज तथा माघ–फागुन र चैत गरी दुई चरणको ६ महिनाको अवधिमा २६ हप्तासम्म आइरन चक्की खुवाउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले राज्यको लगानीमा सञ्चालित किशोरीहरुलाई आइरन चक्की खुवाउने कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष पुनको अध्यक्षता, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालको सञ्चालन, शिक्षा संयोजक गणेशबहादुर कटुवालको स्वागतमा सम्पन्न कार्यक्रममा आइरन फोलिक एसिड चक्की वितरण भएको थियो । कार्यक्रममा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमका स्वास्थ्य तथा पोषण अधिकृत रामचन्द्र पन्थीले विद्यालय स्वास्थ्य तथा पोषण प्याकेजसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेरलाई किशोरावस्था मानेको हुँदा यो समयमा शारिरीक वृद्धि विकासको दर उच्च हुने भएकाले पोषणलाई महत्व दिनुपर्ने आवश्यकता पर्दछ । मानव शरिरमा हुने राता रक्तकोषिका (आरबिसी)को विभिन्न तन्तुहरुसम्म अक्सिजन पु¥याउने क्षमतामा कमी आउनुलाई रक्तअल्पता भनिन्छ । आइरन तथा पोषिलो खाना कम खानु, जुकाको संक्रमण तथा अन्य रोगहरु र किशोरावस्थामा गर्भवती हुने कारणले रक्तअल्पता हुन्छ । रक्तअल्पता हुनबाट बच्नका लागि हरियो सागपातका साथै भिटामिन–सीयुक्त खानेकुरा, फलफुल तथा पशुजन्य उत्पादनको उपभोगमा जोड दिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । हामीले दैनिक खाने खानामा पनि सन्तुलित भोजन तथा विविधिकरण गर्नुपर्ने आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार