म्याग्दीका स्थानीय तहमा ५ करोड चार लाख ३४ हजार रुपैयाँ बेरुजु

बेनी । म्याग्दीका ६ वटै स्थानीय तहमा आर्थिक बर्ष २०७७ /०७८ को बेरुजु रकम ५ करोड चार लाख ३४ हजार रुपैयाँ रहेको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार म्याग्दीका ६ वटै स्थानीय तहमा पाँच अर्ब ६५ करोड ९८ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएको छ । यस अघिको भन्दा स्थानीय तहले बेरुजु रकम घटाएका छन् ।

पालिकामा कार्ययोजना बनाएर पुरानो बेरुजु असुलउपर, कागजात, प्रक्रियामा कडाइ गरेपछि बेरुजु घटेको स्थानीय तहको भनाई छ ।७९ करोड ८० लाख ४० हजार रुपैयाँको लेखापरीक्षण भएको मालिका गाउँपालिकामा एक करोड ३९ लाख ९१ हजार रुपैयाँ बेरुजु देखिएको छ । रघुगङ्गा गाउँपालिकामा ७६ करोड ९० लाख ६५ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ३६ लाख २७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

बेनी नगरपालिकामा एक अर्ब २१ करोड ५३ लाख ९० हजार रुपैयाँको परीक्षण गर्दा एक करोड ३९ लाख ५२ हजार रुपैयाँ, अन्नपूर्ण गाउँपालिकाको ८९ करोड दुई लाख ५७ हजार रुपैयाँ लेखापरीक्षण गर्दा ६४ लाख ८३ हजार रुपैयाँ बेरुजु देखिएको छ । धवलागिरि गाउँपालिकाको एक अर्ब १३ करोड १७ लाख ६५ हजार रुपैयाँ बजेटको लेखापरीक्षण गर्दा ८३ लाख ३४ हजार र मंगला गाउँपालिकाको ८४ करोड ५५ लाख ८१ हजार रुपैयाँको परीक्षण गर्दा ४० लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।म्याग्दीको सदरमुकाम नजिकै रहेको पर्वतको जलजला गाउँपालिकाको ८७ करोड २१ लाख २६ हजार रुपैयाँ लेखापरीक्षण गर्दा ८० लाख ९२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

आर्थिक वर्षको अन्तिममा ठूलो मात्रामा बजेट खर्च गर्दा प्रक्रिया पूरा नगरेको, रकमान्तर नगरी विनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरिद ऐनको प्रतिकूल हुने गरी बिनाप्रतिस्पर्धा सामग्री खरिद र योजनाका काम गर्दा बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार