सिंगामा एकमहिने ‘मगर भाषा’ प्रशिक्षण सम्पन्न

  म्याग्दी न्युज संवाददाता

म्याग्दी, १७ भदौ । बेनी नगरपालिका– ४ सिंगामा एकमहिने मगर भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मगर जातीको लोप हुदै गएको भाषालाई संरक्षण गर्ने उद्देश्यले वडा कार्यालय र नेपाल मगर संघ सिंगा तातोपानी एकाईको आयोजनामा एक महिने भाषा प्रशिक्षण कार्यक्रम गरिएको थियो ।

सिगाँको सोता, तल्लो बजार र उपल्लो बजार गरी ३ ठाउँमा साउन १७ गतेदेखि भदौ १७ गतेसम्म संचालन भएको भाषा प्रशिक्षणमा ५५ जनाको सहभागिता रहेको थियो । समुदायमा मगरको मातृ भाषा लोपहुदै गएको अवस्थामा वडाबाट ५० हजार रुपैयाँ बजेट ब्यवस्थापनबाट भाषा प्रशिक्षण गरिएको थियो । एक महिनासम्म संचालन भएको प्रशिक्षणमा प्रशिक्षक दानबहादुर आलेमगरले मगर जीवनशैलीमा प्रयोग गर्ने भाषाहरु सिकाउनुभएको थियो । तालिममा प्रशिक्षक आलेले मगर भाषामा परिचय, एक अर्का विचको साईनोमा बोलाउने भाषा, भान्सामा प्रयोग हुने शब्द, जीवजन्तु, खानेकुरा लगायतका शब्दहरु मगर भाषामा उच्चारण र बोल्ने तरिकाहरुबारे एक महिनाको समयमा सिकाएको बताउनुभयो ।

शुक्रबार सिंगास्थित तातोपानी जलमाई भगवती आमा समुहको भवनमा भएको समापन कार्यक्रममा बेनी नगरपालिका– ४ का वडा सदस्य प्रेम श्रीषमगर र नेपाल मंगर संघ बेनी नगरपालिका ४ सिंगाका अध्यक्ष कृष्णबहादुर घर्तिमगरले दोषल्लासहित फूलमालाले भाषा प्रशिक्षक आलेलाई सम्मान गर्नुभएको थियो । समापन कार्यक्रममा वडा सदस्य श्रीष मगरले लोप हुदै गएको मगर भाषा, कला र सस्कृति जोगाउन मगर जातीहरु एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले एकजनाले तालिममा सिकेको भाषालाई समुदायमा प्रयोग गरेर पूस्ता हस्तान्तरण गर्न पनि आग्रह गर्नुभयो । मगर जातीको पुर्खौली भाषालाई संरक्षण र पुस्ता हस्तान्तरण गराउनका लागि आगामी बर्षमा पनि बजेट ब्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

त्यस्तै प्रशिक्षक आलेले तालिममा सहभागि भएर सिकेको मगर मातृभाषालाई हर समयमा ब्यवहारमा लागु गरेर भाषा, सस्कृति र संस्कार बचाएर राख्न प्रेरित गर्नुभयो । इकाईका अध्यक्ष कृष्णबहादुर घतिमगरले सबैको चासो र चिन्तनले मात्र मगरको मातृ भाषा जोगाउन सकिने बताउनुभयो । उहाँले तालिमका लागि बजेट ब्यवस्थापन गर्ने वडाका जनप्रतिनिधि, भाषा प्रशिक्षणमा सहभािग सदस्यहरु धन्यवाद दिनुभएको थियो । नेपाल मंगर संघ इकाईका उपाध्यक्ष चित्रबहादुर गर्वुजाले मगर जातीको बाहुल्य भएको म्याग्दीमा एकले जानेको भाषा अन्यलाई सिकाउन आग्रह गर्नुभयो ।

संघका सचिव कप्रसाद बुढाथोकीको संचालन र सदस्य मिना गर्वुजाको स्वागतमा भएको समापन कार्यक्रममा भेषभुषामा सजिएर आएका मगर जातीले पुर्खौली, यानीमाया, कौडा र सालैजो गित प्रस्तुत गर्नुभएको थियो ।

म्याग्दी मगर जातीको बाहुल्य भएको जिल्लामा चिनिन्छ। मगर भाषाबाट जिल्लाका धेरैबस्तीकोहरुको नाम पनि नामाकरण गरिएको सचिव कप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । पछिल्लो समय मगर भाषासम्वन्धी पढाई र प्रशिक्षण नहुदाँ मगरहरुमा मातृभाषा कम प्रयोग हुदै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार