
गोरखा । लोक्पा पहिरोमा परेर सख्त घाइते भएका सुर्खेतका ३४ वर्षीय दिपक जिसी पहिरोको बीचमै तीन दिन फसेका छन् । लोक्पा पहिरोमा खसेको ढुंगाले लागेर जिसीको खुट्टामा चोट लागेको छ ।
उनी पहिरो कट्न नसक्दा लोक्पा भिरको पहिरो बीचमा ढुंगाको छेल लगाएर तीन दिनदेखि रात कटाएका छन् । ‘खुट्टामा ढुंगाले लागेर हिँड्नै नसक्ने भएको छ, बोकेर पनि लैजान नसक्ने अवस्था छ,’ लोक्पाका शेराप गुरुङले भने,‘अहिले भर्खर पहिरो बीचमै खाना पुर्याएर आयौँ ।’ मान्छेले बोकेर पहिरोबाट ल्याउन नसक्ने अवस्था रहेको उनले बताए ।
‘दायाँबायाँ दुबैतिर पहिरो र बीचमा मान्छे घाइते अवस्थामा छ,’ उनले भने,‘पहिरोमुनि छेल परेर बसिरहेका छन्, मान्छेबाट बोकेर उद्धार र सम्भव छैन, हेलिकप्टरबाटै उद्धार गर्नुपर्ने हुन्छ ।’ हेलिकप्टरबाट उनको उद्धारमा सहज हुने शेरापले बताए ।
लोक्पाको डुयुखोला र सर्दिभिर बीचमा झण्डै आठ सय मिटर क्षेत्रमा पहिरो गएको छ । जिसीलाई हेलिकप्टर मार्फत् उद्धारका लागि चुमनुव्री गाउँपालिकाले प्रशासन समक्ष अनुरोध गरेको छ । मनास्लु पदमार्गमा पहिरो जाँदा मनास्लु पदयात्रामा गएका ५० बढी पर्यटक समेत समस्यामा परेका छन् ।