निर्वाचनको प्रचारप्रसार अवधि १७ दिन मात्रै राखेकोमा दलहरुको आपत्ति

  प्रताप बानियां 

मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा निर्वाचन आचारसंहिताको विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्बन्धमा आचारसंहितामाथि अन्तरक्रिया गरिएको हो ।

आसन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको उम्मेदवारी दर्ताको पूर्वसन्ध्याको अवसर पारेर अन्तरक्रिया एवं छलफल गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचन आचारसंहिताको विषयमा आफ्नो प्रस्तुतीकरणसहित सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी घिमिरेले राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले कस्तो निर्वाचन प्रचार सामग्री प्रयोग गर्न सक्छन् भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।

यसैगरी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्तासँगै संलग्न गर्नुपर्ने कागजात, निर्वाचन आचारसंहिताको पालना, उम्मेदवार हुन चाहिने योग्यता, निर्वाचन आयोगले जारी गरेको आचारसंहितालगायत विषयहरुमा सहजीकरण गरिएको छ ।

त्यस्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुने व्यक्तिले पेश गर्नुपर्ने सम्पत्ति विवरण, उम्मेदवारले खर्च गर्न पाउने शीर्षकहरु, उम्मेदवारको मनोनयनपत्र दर्तासम्बन्धी जानकारी, निर्वाचनमा प्रयोग गरिने झण्डा, निर्वाचन सामग्री तथा प्रचारप्रसारलगायत विविध विषयहरुमा जिल्ला निर्वाचन अधिकारी घिमिरेले सहजीकरण गर्नुभएको थियो ।

 

निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार आसन्न निर्वाचनमा हिमाली जिल्ला म्याग्दीको प्रतिनिधि सभा सदस्य पदमा उठ्ने उम्मेदवारले बढीमा ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था रहेको छ । यसैगरी प्रदेश सभा (क) र (ख)मा क्रमशः उम्मेदवारले २१ लाख र २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

यसैबीच निर्वाचन आयोगले तोकेको मतदानको १७ दिनभन्दा अगाडिदेखि मात्रै उम्मेदवारले घरदैलोसँगै निर्वाचनको प्रचारप्रसार गर्न पाउने गरेको व्यवस्थाप्रति म्याग्दीका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।

असोज २३ गते उम्मेदवारी दर्ता गर्ने र २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका रहेपनि मतदान हुनुभन्दा १७ दिन अगाडिबाट मात्रै निर्वाचन प्रचारप्रसारको कार्यक्रम लिएर गाउँ जान पाउने गरेको व्यवस्थाप्रति दलहरुले आपत्ति जनाएका हुन् ।

नेकपा एमाले म्याग्दीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्नुभएका हरिकृष्ण श्रेष्ठले २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने तर मतदान हुनुभन्दा १७ दिनअघि मात्रै प्रचारप्रसार गर्न पाउने व्यवस्था परिवर्तन गर्न माग गर्नुभयो ।

कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले आसन्न निर्वाचनमा स्थानीय प्रशासनको तर्फदेखि मतदानस्थलको अनुगमनसहित सुरक्षाको लागि आवश्यक पर्ने गृहकार्य भैरहेको बताउनुभयो । उहाँले अनुगमनको पाटोलाई राजनीतिक दलहरुले पनि सहयोग गर्नुपर्ने बताउँदै निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउन सरोकारवाला निकाय सबैले सघाउनुपर्ने बताउनुभयो । चुनावको लागि सुरक्षाको हिसाबले स्थानीय प्रशासन प्रतिबद्ध रहेकाले ढुक्कसँग निर्वाचनमा लाग्न दलहरुलाई प्रजिअ रानाले अनुरोध गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा निर्वाचन आचारसंहिता र उम्मेदवारी दर्ताको क्रममा पालन गर्नुपर्ने निर्वाचनसँगस सम्बन्धित विषयहरुमा जानकारी गराइएको थियो । कार्यक्रमको समापन गर्दै मुख्य निर्वाचन अधिकृत एवं म्याग्दीका जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालले स्वतन्त्र, पारदर्शी र भयरहित वातावरणमा निर्वाचनसम्पन्न गर्ने आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार