कांग्रेस नेता महतले स्वतन्त्र उम्मेद्वारी फिर्ता गरेर गठबन्धनका उम्मेद्वारलाई सघाउने घोषणा

  म्याग्दी न्युज संवाददाता

बेनी। प्रदेश सभा क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराउनुभएका नेपाली कांग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उम्मेद्वारी फिर्ता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिएका महतले गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारीलाई समर्थन गर्ने घोषणा गर्नुभयो ।पार्टीका नेताहरुको प्रतिवद्धता, जिल्लाका नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुको आग्रह अनुसार उमेद्वार फिर्ता लिएर गठबन्धनको उमेद्वारलाई जिताउने अभियानमा जुट्ने महतले बताउनुभयो ।

पार्टीले आफ्नो त्याग र योगदानको उपेक्षा गरेको भन्दै महतले आइतबार स्वतन्त्र मनोनयन दर्ता गराउनुभएको थियो । महतको योगदानको कदर र उहाँको उचित सम्मान गर्ने नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबी)ले बताउनुभयो ।नेपाली काँग्रेस म्याग्दीका पुर्व सहसभापति रहेका बेनपा–१, रत्नेचौरका महत म्याग्दीमा पुराना काँग्रेस नेताका रुपमा चिनिनुहुन्छ । उहाँले अघिल्लो प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा पनि स्वतन्त्र मनोनयन दर्ता गरेर फिर्ता लिनुभएको थियो ।

गठबन्धनका तर्फबाट म्याग्दीमा प्रतिनिधिसभामा नेपाली काँग्रेसका खमबहादुर गर्बुजा ‘खम्बिर’, प्रदेशसभा क्षेत्र (क)मा माओवादीका हरि भण्डारी र क्षेत्र (ख) मा माओवादीकै रेशम जुग्जाली ‘सुविन’ उम्मेद्वार बन्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार