म्याग्दीमा निर्वाचन सुरक्षा व्यवस्था कडा (भिडिओ)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि म्याग्दीमा पुर्व सुरक्षा तयारी पुरा भएको छ । निर्वाचनलाई धाँधलीरहित ,भरपर्दो र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि राना सहित सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ । भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ ।

‘जिल्लामा निर्वाचन विशेष सुरक्षा कार्ययोजना बनाएर निर्वाचनलाई भरपर्दो धाँधलिरहित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन निर्वाचनको पुर्व सुरक्षा तयारी पुरा भएको छ ,’ प्रजिअ रानाले भन्नुभयो ,‘जिल्लाका ८२ वटा मतदान स्थल र १२० वटा मतदान केन्द्रमा म आफै गएर निरिक्षण गरिसकेको छु । नेपाल प्रहरी ,नेपाली सेना र सशस्त्रका सरक्षा टोली गाउँगाउँ पुगिसक्नुभएको छन् ।’ मतदाता शिक्षालाई समेत प्रभावकारी बनाउन जिल्लामा ४ सय ६१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरेर सदरमुकामदेखि गाउँसम्म मतदाता शिक्षा समेत सञ्चालन भैरहेको उहाँले बताउनुभयो । उहाँले कर्मचारीहरुलाई समेत छनौट गरी तालिम दिइएको बताउनुभयो ।

जिल्लाभर स्वयंसेवक बाहेक ९५३ जना कर्मचारी जनशक्ती परिचालन हुने भएका छन् । प्रतिनिधिसभा तर्फ एक र प्रदेशसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मंसिर ४ गतेको निर्वाचनका लागि जिल्लामा कुल ८६ हजार १ सय २० जना मतदाता कायम भएका छन्भने तीमध्ये महिला ४४ हजार ६४, पुरुष ४२ हजार ५५ र अन्य १ जना रहेका छन् ।

जिल्लाभर नेपाल प्रहरी , नेपाली सेना ,सशस्त्र प्रहरीबाट करिब एक हजार आठ सय जनशक्ति निर्वाचनमा खटिने छन् । आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा विद्रोही समुहलाई समेत केन्द्रित गरी सुरक्षा व्यवस्थालाई कडाई बनाइएको प्रजिअ रानाले बताउनुभयो । यसअघि निर्वाचन बहिस्कारको भित्ते लेखन गर्ने विप्लव सिका चार जना कार्यकर्तालाई पक्राउ गरेको थियो । आगामी निर्वाचनमा सम्भावित राजनितिक दलहरुबीच आन्तरिक तथा अन्तरदलमा हुनसक्ने विवाददेखि तर्साउने, धम्क्याउने, उम्मेदवार तथा मतदातामाथि आक्रमण र प्रत्याक्रमणका घटना हुन नदिन समेत सुरक्षा रणनिति अपनाईएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार