देवीस्थानमा महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानमा हिँजो (शनिवार) महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरिएको हो ।

मालिका गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा सहकार्यमा सञ्चालित कार्यक्रमको मिलन म्याग्दी, महिला अधिकार मञ्च, महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बेनी र शुभलक्ष्मी इन्भेष्टमेन्ट प्रालि म्याग्दीले समन्वय गरेका थिए । मगरदाङ आमा समूह देवीस्थानले आयोजना गरेको कार्यक्रममा मर्यादित महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्यको विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले समुदायमा हुने लैङ्गिक हिंसालाई सरोकारवाला निकाय सबै मिलेर न्युनीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले कसैले पनि लिङ्गको आधारमा कसैमाथि विभेद र भेदभाव गर्न नहुनेमा जोड दिँदै आर्थिक परनिर्भरताको कारणले गर्दा हिंसा हुने गरेको पाइएकाले महिलाहरु आर्थिक उपार्जनको क्षेत्रमा आबद्ध हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले लैङ्गिक हिंसाको विरुद्धमा महिला आन्दोलनको इतिहास, बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डाक्टर बिराज आचार्यले प्रजनन् स्वास्थ्य र एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (OCMC) मार्फत उपलब्ध सेवासुविधाको बारेमा सहजीकरण गर्नुभएको थियो । यसैगरी गौबमवस्त माविका शिक्षक प्रकाश अधिकारीले महिनावारी स्वच्छता र मर्यादित महिनावारी, मिलन म्याग्दीका सहसचिव एवं क्रियाशील पत्रकार प्रताप बानियाँले सञ्चारमाध्यममार्फत हुने लैङ्गिक हिंसा र सुआहारा कार्यक्रमका विज्ञ बालकुमारी पुनले स्वास्थ्यमा पोषणको महत्वका विषयमा सहजीकरण गर्नुभएको थियो ।

मगरदाङ आमा समूहका अध्यक्ष राजमति पुनको अध्यक्षता, उपाध्यक्ष दिलमाया फगामीको स्वागत र सचिव सुनिता पाईजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले १६ दिने अभियान र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अवसरमा ‘म हिंसा सहन्न, आफू पनि गर्दिन र हिंसा गरेको देखेमा प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धतासहित व्यानरमा हस्ताक्षर समेत गरिएको थियो । सोही अवसरमा प्रजनन स्वास्थ्यसम्बन्धी सन्देशमूलक भिडियो डकुमेन्ट्री समेत देखाइएको थियो ।

नेपालमा १६ दिने अभियानको सुरुवात वि.सं. २०५४ सालदेखि भएको पाइन्छ । यस अवधिमा विविध महिलाविरुद्ध हुने हिंसाको सवालमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोबल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विश्वभर मनाउँदै आएको पाइन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भैसकेको छ ।

महिलामाथि हुने हिंसा मानवअधिकार हननको सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यस अभियानअन्तर्गत हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधिहरु र कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार