सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला हुने (भिडिओ सहित )

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि ,पर्यटन ,औद्योगिक ,व्यापा मेला–२०७९ हुने भएको छ । जिल्ला स्थित स्थानीय तहको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म बेनी स्थित खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला हुने भएको हो । संघले बिहिबार बेनीमा पत्रकार सम्मेलन गरेर ‘उद्योग, व्यापार र कलाको विकास गरौ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रर्बद्धन गरौ’ भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको जानकारी गराएको छ ।

३९ वटा उपसमिति गठन गरेर महोत्सवको तयारी तिब्र बनाएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण,पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापारिक ज्ञान सिप, पुजि र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष कटुवालले बताउनुभयो ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सृजना गर्दै अर्थोपार्जनमा सघाउन पु¥याउने, खेलकुद र शिक्षा क्षेत्रको बारेमा जागृत गर्ने, लुकेर रहेका प्रतिभाको पहिचानका लागि अवसर सिर्जना गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करीब दश करोड बराबर रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । दुई हजार, पाँच सय र एक सय रुपैयाँ दरका टिकट बिक्री गरिनेछ । १०० रुपैयाँ दरको टिकट बिक्रीबाट हुने आम्दानी मध्य व्यवसायिक हितकोषमा १० रुपैयाँ , नेपाल पत्रकार महासंघ, योग साधना हल, बसपार्क तथा बजार सरसफाई र बाल संगठनका लागि १÷१ रुपैयाँ उपलब्ध गराउने संघले जनाएको छ ।

बेनीको खुल्ला मञ्चमा महोत्सवमा २५८ वटा व्यवसायिक स्टल रहनेछन् । २६ वटा होटलका स्टल रहनेछन् । ५० वटा स्टल बुक भइसकेका छन् । पालिकाहरुको सिफारिसमा स्थानीय उत्पादनका स्टललाई निशूल्क र म्याग्दीका हस्तकला व्यवसायीलाई ५० प्रतिशत छुट दिइने म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्यौली, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ । बाल उद्यान, मिनी चिडियाघर, छेलो, अन्ध निशान, झाँकी र भेषभुषाको प्रर्दशनी हुनेछ ।

एक करोड २५ लाख रुपैयाँ आम्दानी, एक करोड १५ लाख रुपैयाँ खर्च र नौ लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ । यसअघि २०६०, २०६३, २०६५, २०६८, २०७१ र २०७४ मा म्याग्दी महोत्सव आयोजना गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको आयोजानामा २०५८, २०५९, २०६२, २०६४, २०६६, २०६७, २०६८, २०७०, २०७२ र २०७३ मा माघे संक्रान्ति मेला सञ्चालन भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार