सहकारीले उत्पादन र व्यावसायिक क्षेत्रमा लगानी बढाउनुपर्ने उपप्रमुख लामिछानेको भनाइ

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको आज (आइतबार) २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०७९÷०८० सम्म कुल ५ सय ५ जना शेयर सदस्य रहेको सहकारीको ९१ लाख ६२ हजार तीनसय रुपैयाँ शेयर पुँजी रहेको छ ।

यसैगरी सहकारी संस्थामा जगेडा कोषतर्फ पाँचलाख ५९ हजार आठसय ३९ रुपैयाँ, अन्य कोष एकलाख १९ हजार सातसय ९६, बचततर्फ एक करोड ४५ लाख ८९ हजार छ सय १७, ऋण लगानी एक करोड ७४ लाख ८३ हजार छ सय ८७, शेयर राहत (बचत) कोष ६७ हजार पाँचसय ८४ र तरलता २८ लाख ६२ हजार चारसय ८९ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।

साधारणसभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष चिना बानियाँले संस्थागत, सचिव दुर्गा केसीले प्रगति र कोषाध्यक्ष कमला अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा सहकारीले विभिन्न विधातर्फ सम्मान गरेको छ । सम्मानित हुनेहरुमा दैनिक बचततर्फ ओसिन श्रेष्ठ, मासिक बचतमा धनकुमारी शेरचन र मना गिरी, आवधिक बचततर्फ चन्द्रकुमारी खत्री, रामकुमारी गौचन, उत्कृष्ट कारोबारकर्ता देवी सार्की र लगानीतर्फ उमादेवी पुन रहनुभएको छ । उहाँहरुलाई मायाको चिनो कप उपहार दिएर सम्मान गरिएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले सहकारी संस्थामार्फत ठूलो मात्रामा लगानी गरेर उत्पादन र निर्माण गर्न नसके पनि महिलाहरुको सशक्तिकरण भएको बताउनुभयो । उहाँले सहकारी सघसंस्थाहरुले आर्थिक कारोबार गर्ने मात्र नभई उत्पादन र व्यावसायिकमूलक क्षेत्रमा लगानी वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउनुपर्ने बताउनुभयो । बेनी नगरपालिकाले सहकारीको नियमन गर्नका लागि आवश्यक कार्यविधि बनाएर पारित गरेको हुँदा नगर क्षेत्रमा सञ्चालित सहकारी संघसंस्थाहरुको अनुगमन गरिने उहाँले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले सहकारी संस्थाले समुदायस्तरमा छरिएर रहेका पुँजीहरुलाई एकीकृत गरेर ठूलो मात्रामा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले अब घरका दराजहरुमा हङकङ र सिङ्गापुरका डलर तथा साडी पट्याएर राख्ने समय परिवर्तन भएको बताउँदै दराजभित्र जीवनपयोगी सिपमूलक पुस्तकहरुको संग्रह गरी ज्ञान आर्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाको उद्घाटनसत्रमा सहकारीका पूर्व अध्यक्ष देवी केसी र सल्लाहकार जमुना आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष चिना बानियाँको अध्यक्षता, उपाध्यक्ष दिलमाया बिटालुको स्वागत र सचिव दुर्गा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभाको अवसरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो । रोजगारी र समृद्धिका लागि महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रमको इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार