आँखा शिविरमा २५ सय लाभान्वित (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत तथा सामुदायिक विद्यालय, बृद्धआश्रममा आयोजित शिविरबाट २४ सय २३ जना लाभान्वित भएका छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा जोगाउँ अभियान अन्तरगत गलेश्वर मावि, राष्ट्रिय मावि घतान,गलेश्वर आर्दश मावि,जडभरत आमावि,बेनी सामुदायि मावि, बेनी आवासीय मावि, बालमन्दिर आमावि कालिपुल, बुद्ध एकेडेमी र सरस्वती आमावि बगरफाँटमा शिविर सञ्चालन गरिएको थियो । विद्यालयका विद्यार्थी, शिक्षक गरी २२ सय जना र सर्वसाधारण २२३ जनाको चेकजाँच गरिएको थियो ।

त्यसैगरी गलेश्वर शिवालय क्षेत्र विकास कोष अन्तरगत सञ्चालित बृद्धआश्रम र गलेश्वरबासीले समेत चेकजाँच गरेको किवानिस इन्टरनेशनलका गण्डकी प्रदेश उपाध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो । शिविरमा डेढ सय चस्मा, औषधी वितरण गरिएको थियो भने थप १ सय ५० बिरामीलाई चस्मा उपलब्ध गराइने उपाध्यक्ष केसीले बताउनुभयो । ‘पहिलो चरणको अभियान सकिएको छ,अव दोस्रो चरणमा बाँकी विद्यालयमा शिविर सञ्चालन हुने छ’ उपाध्यक्ष केसीले भन्नुभयो ।

विद्यालयमा आयोजित शिविरमा चेकजाँच गर्दा ७ देखि ९ प्रतिशत विद्यार्थीमा दृष्टि दोषको समस्या देखिएको नेपाल आँखा अस्पतालका बरिष्ठ चिकित्सक डा.इन्दुप्रसाद ढुंगेलले बताउनुभयो । शिविरमा ग्रामिण क्षेत्रको तुलनामा बेनीबजार आसपासका क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीको दृष्टि दोषको समस्या अधिक रहेको डा. ढुगेलको भनाई छ । कोठाभित्र बसेर विद्युतीय उपकरणको प्रयोग, खानपानमा हेल्चेक्राई,खेलकुद तथा नियमित शाररीक अभ्यासमा कम हुनुका साथै आधुनिक अत्यधिक मात्रामा विद्युतीय उपकरणको प्रयोगले बालबालिकाको आँखामा समस्या देखिएको दृष्टि विशेषज्ञ बिर्ख बोगटीले बताउनुभयो ।

म्याग्दीमा किवानिस इन्टरनेशनलले निकट भविस्यमा थप शिविर सहित विद्यालयका शिक्षकलाई आँखा सम्बन्धि उपचारमा सहज हुने गरी तालिमको समेत आयोजना गर्ने र समस्या पहिचान गरी उपचार गर्ने संस्थाका अभियान्ता भरत ढुंगेलले बताउनुभयो। शिविरमा चस्मा, औषधी वितरण सहित थप उपचारका लागि पहिचान भएका बिरामीलाई आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि रिफर गरिएको छ । विद्यालयका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले समस्या पहिचान र उपचारमा सहयोग मिलेको विद्यालयले जनाएको छ । शिविरको स्थानीय संयोजन पत्रकार एवम् ओमकुमार शान्ति कोषका अध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार