बेनी नगरपालिकाको नगरसभा : ७८ करोडको संशोधित बजेट पारित,उत्कृष्ट कर्मचारी पुरस्कृत (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन सम्पन्न भएको शुक्रबार बेनी स्थित नेपाल मङ्का खलःको सभा हलमा सम्पन्न भएको नगरसभाको १२ औं अधिवेशनले नगर उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको थप दुई करोड ६४ लाख रुपैयाँ बजेट ,संशाेधित बजेट,  सार्वजनिक बक्यौता तथा भाडादर निर्धारण समितिका संयोजक उत्तम कुमार कर्माचार्यले जानकारी गराउनुभएको निर्णय र न्यायिक समितिका सदस्य रत्नबहादुर जिसीले प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन पारित गरेको छ । गत आर्थिक बर्षमा खर्च हुन नसकेको मौज्दात रहेको बजेट ५६ वटा शिर्षकमा बजेट विनियोजन गरिएको नगर उपप्रमुख लामिछानेले जानकारी दिनुभयो ।

यसैगरी सभामा उपप्रमुख लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन पारित भएको छ । असारको सभाले  ७३ करोड २२ लाख रुपैयाँ बिनियोजन भएकोमा थप भएको शशर्त अनुदान र कार्यपालिका बैठकबाट बिनियोजन गरिएको पाँच करोड सात लाख ८६ हजार १४३ समावेश गरि ७८ करोड २९ लाख ८६ हजार १४३ रुपैयाँको बजेट प्रस्ताव गर्नुभएको थियो ।चालु तर्फ ४९ करोड २७ लाख ९८ हजार र पुँजिगत तर्फ २९ करोड १ लाख ८८ हजार १४३ रुपैयाँ प्रस्तावित बजेट पारित भएको हो ।

वडा नम्बर १ को कार्यालय भवन सभाहल निर्माण गर्न दश लाख रुपैयाँ,वडा नम्बर २ स्थित बेनीदेखि बगरफाँट सम्मको मोटरबाटो विस्तार गर्न दश लाख रुपैयाँ,वडा नम्बर २ कै हाँडेभिर देखि बगरफाँट सम्मको मोटरबाटो विस्तार गर्न १५ लाख रुपैयाँ ,वडा नम्बर ३ स्थित भकिम्ली स्वास्थ्य चौकी भवन निर्माण गर्न दश लाख रुपैयाँ ,वडा नम्बर ४ स्थित तातोपानी तल्लोबजार मोटरबाटो स्तरोन्नतीलाई १५ लाख रुपैयाँ,वडा नम्बर ५ स्थित गुरुङकोट सिमधारा मोटरबाटो मर्मत गर्न पाँच लाख रुपैयाँ ,वडा नम्बर ५ स्थित जनकल्याण मावि घेराबार तीन लाख रुपैयाँ ,वडा नम्बर ५ को डडुवा मोटरबाटो निर्माण तथा खानेपानी मर्मत गर्न दुई लाख रुपैयाँ , वडा नम्बर ६ को छापा असिमुरे लाछोटोल सडक स्तरोन्नती गर्न चार लाख रुपैयाँ,वडा नम्बर ६ स्थित विपद् सडक मर्मत दुई लाख रुपैयाँ लगायत ५६ वटा विभिन्न योजना तथा कार्यक्रमका शिर्षकमा बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । नगरपालिकाले चालुतर्फ ३९.५४ प्रतिशत र पुँजिगत तर्फ ७.६८ प्रतिशत प्रगति हासिल गरेको छ । नगरपालिकामा हालसम्म एक करोड ९० लाख ६९ हजार ६०० रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको छ ।

उहाँका अनुसार ,नगर सभामा कार्यसम्पादनको आधारमा नगरपालिकामा कार्यरत कर्मचारी ,स्वास्थ्यकर्मी र शिक्षकलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा सुचना प्रविधि अधिकृत खिमबहादुर क्षेत्री ,सव इन्जिनियर कमल थापा मगर , सिङ्गा स्वास्थ्य चौकीका सिनियर अहेव हरिलाल अधिकारी , वडा नम्बर ३ का वडा सचिव प्रकाश आचार्य ,चन्द्रदोय आधारभुत विद्यालयमा अध्यापनरत शिक्षक शान्ताकुमारी राना ,बालचन्द्र आधारभुत विद्यालयका प्रअ सुरेन्द्र कुमार केसी र नगरपालिकाको कार्यालय सहयोगी चक्रबहादुर बानियाँलाई जनही ५ हजार रुपैयाँ सहित सम्मानपत्रले पुरस्कृत गरिएको हो ।

नगर प्रमुख सुरत केसीले वडा स्तरबाट माग गरिएका योजनाहलाई छनौट गरी आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले चालु आर्थिक बर्षमा सञ्चालित योजनाहरु कार्यान्वयनलाई तिब्रता दिन कार्यपालिका सदस्य ,गाउँसभा सदस्य र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सभामा वडा नम्बर ७ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रमेश श्रेष्ठ ,गाउँसभा सदस्य रमेश फगामी लगायत जनप्रतिनिधीहरुले छलफलमा भाग लिनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार