दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामस्थित जनता माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ । विद्यालयले आइतबारदेखि अभिभावकबीच विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन थालेको हो ।

माघे सङ्क्रान्तिको अवसर पारेर सुरु गरिएको कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष पविन गर्बुजाले विद्यालयलाई वर्तमान अवस्थासम्म पुर्याउन योगदान गर्ने पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षाप्रेमी, चन्दादाता तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले राज्यले शिक्षा क्षेत्रमा लगानी गरे पनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्याको समाधानका लागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । विद्यालयको गुणस्तर सुधार गर्न वडा कार्यालय प्रतिबद्ध रहेको बताउँदै उहाँले त्यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

२०१६ सालमा स्थापना भएको विद्यालय २०३४ सालमा निम्न माध्यमिक र २०६९ सालमा माध्यमिक विद्यालयका रूपमा स्तरोन्नति भएपछि पहिलो पटक ६३औँ वार्षिकोत्सव मनाउन लागेको रघुगंगा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष कमला तिलिजाले बताउनुभयो ।
कार्यक्रममा आर्थिक सहयोगदाता बिन्द गर्बुजाले विद्यालयले विगतको तुलनामा भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा उल्लेखनीय प्रगति गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण गर्बुजाले विद्यालयको शैक्षिक उन्नयनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

माघ १ गते उद्घाटनसँगै अभिभावक महिला भलिबल, बेलुन फुटाउने तथा एथलेटिक्ससम्बन्धी खेलहरू सञ्चालन गरिएका छन् । माघ २ गते अभिभावक पुरुष भलिबल, अन्धा निशाना, म्युजिकल चेयर तथा एथलेटिक्सका खेलहरू हुनेछन् भने माघ ३ गते सम्पूर्ण खेलकुद प्रतियोगिताका फाइनल खेलहरू सम्पन्न गरिने आयोजकले जनाएको छ ।

माघ ४ गते संघीय सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा आर्थिक सहयोगी दाताहरूलाई सम्मान गरिनुका साथै विद्यालयका गतिविधि प्रस्तुत गर्ने र विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने विद्यालयका प्रधानाध्यापक गुन पुनले जानकारी दिनुभयो । “विद्यालय र समुदायबीच सुमधुर सम्बन्ध कायम गर्न तथा आपसी सहकार्यलाई अझ सुदृढ बनाउन यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएका छौँ,” प्रधानाध्यापक पुनले भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिलाल गर्बुजाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बाल क्लबका संयोजक शिक्षक रमेश कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक खड्क गर्बुजाले गर्नुभएको थियो । कार्यक्रममा वडा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, शिक्षाप्रेमी, बुद्धिजीवी, शिक्षक, अभिभावक, कलाकार, खेलाडी, विद्यार्थी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।


















