राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा दोस्रो कार्यकालका लागि म्याग्दीका डा. श्रेष्ठ नियुक्त

  म्याग्दी न्युज संवाददाता

बेनी । राष्ट्रिय आयोगको उपाध्यक्षमा डा.मिनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा जन्मिएका श्रेष्ठ यसअघि २०७३ भदौ नौ महिना आयोगको उपाध्यक्ष बन्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई सोमबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयका सदस्य पुनम खड्काले जानकारी दिनुभयो ।

श्रेष्ठ दोस्रो कार्यकालको लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको हो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजिनामा दिएर पहिलो कार्यकालमा आयोगको उपाध्यक्ष बनेका श्रेष्ठले राष्ट्र बैङ्कको अनुसन्धान र ऋण विभागको नेतृत्व गर्नुभएको थियो ।

सन १९८८ वाट राष्ट्र बैङ्कमा आवद्ध हुनुभएका श्रेष्ठ आर्थिक अनुसन्धान, तालिम, नीतिगत सुझाव तथा रणनीति तर्जुमाका काममा विज्ञ मानिनुहुन्छ । उहाँसंग २००६ देखि २००९ सम्म साउन ईस्ट एसिया सेन्ट्रल बैक्स रिसर्च एण्ड टे«नीङ सेन्टरको बरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरेको अनुभव छ ।

सार्वजनिक प्रशासन र राजनितिक शास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गर्नुभएका श्रेष्ठले अस्टे«लीयाको ओलोङगोङ विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारीधी गर्नुभएको छ । वित्तीय उदारीकरण, मौद्रिक नीति, पुँजी प्रवाह, लगानी, अन्तराष्ट्रिय आप्रवास, गरिवी लगायतका विषयको खोज अनुसन्धानमा संलग्न श्रेष्ठको सात वटा पुस्तकहरु प्रकाशन भैसकेको छ ।

श्रेष्ठ साहीत्यीक क्षेत्रमा मिन दन्द्धीको नाममा चिनीनुहुन्छ । म्याग्दीमा माओवादीको संस्थापक मध्यका एक श्रेष्ठ पनि हुनुहुन्छ । श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र)ले गत प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा समानुुपातिक उमेद्वार बनाएको थियो । वि.स.२०७४ र गत मंसिरको संसदीय चुनाव प्रचारका लागि श्रेष्ठ तत्कालीन गठबन्धनका उम्मेद्वारहरुसँगै म्याग्दीका अधिकांश गाउँबस्तीमा पुग्नुभएको थियो ।देशभरका सम्पूर्ण विकास योजना निर्माण र बजेटको सिमाना निर्धारण गर्ने मुख्य निकायमा म्याग्दीको उपस्थितीले जिल्लाको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार