सरकारबाट बाहिरिने रास्वपाको निर्णय ,मन्त्रीहरुले आजै राजीनामा दिने

  म्याग्दी न्युज संवाददाता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ। आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि पार्टीका सभापति रवि लामिछानले जानकारी दिनुभएको हो । सभापति लामिछानेका अनुसार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएको हो।संसदमा १९ सांसद भएको रास्वपा बाहिरिँदा प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा भने पर्दैन। संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले फेरि एक पटक प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने हुन्छ। संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी कुनै दलमा विभाजन भयो वा सरकारबाट बाहिरियो भने ३० दिनभित्र प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ।

रास्वपाबाट सहभागी हुनुभएका शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्रीले आजै पदबाट राजीनामा दिने सभापति लामिछानेले जानकारी गराउनुभयो । यसैगरी बैठकले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्रालय खाली हुने भएका छन्।यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राख्नुभएको थियो ।तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेकाले उहाँको सांसद पद बदर भएको सर्वोच्च अदालतले फैसला गरेपछि गत शुक्रबार लामिछानेले राजीनामा दिनुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार