अनेरास्ववीयुको सचिवमा पौडेल निर्वाचित

  म्याग्दी न्युज संवाददाता

बेनी। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट म्याग्दीका प्रकाश पौडेल केन्द्रिय सचिवमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा शुक्रबार बिहान सम्पन्न अनेरास्ववीयुको मतगणना अनुसार ५२८ मत ल्याएर पौडेल निर्वाचित हुनुभएको हो ।

अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए । अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिएको थियो । अध्यक्षमा समिक बडाल विजयी हुनुभएको छ । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुनुहुन्थ्यो।

काभ्रेका बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराउनुभएको हो । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित हुनुभएको छ । नरेश रोकाया महासचिव निर्वाचित हुनुभएको छ । सचिवमा पौडेल सहित सञ्जिव धिताल, सुजन कडरिया, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित हुनुभएको छ ।

केन्द्रिय सदस्यमा गण्डकी प्रदेशको कोटाबाट म्याग्दीबाट सावित्रि खत्री सर्वसम्मत चयन हुनुभएको छ । केन्द्रिय सचिवमा निर्वाचित पौडेल यसअघि अनेरास्ववीयुको म्याग्दी जिल्ला अध्यक्ष र गण्डकी प्रदेश अध्यक्ष हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार