बेनी–जोमसोम सडकमा दैनिक पाँच घण्टा यातायात बन्द

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि बेनी–जोमसोम ७६ किमी सडकमा दैनिक ५ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिनु भयो ।

“चैते दशैँको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,” उनले भने “पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो ।”

निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ ।

यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी–गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधबारदेखि हटाइएको छ । बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म सवारी आवतजावत बन्द गर्ने समय तालिका बनाइएको थियो ।

मुक्तिनाथ निर्माण सेवाले पुल स्थान्तरणसहित करिव ३ सय मिटर सडकको एप्रोजसहितको काम गर्न ३ करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार