उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव निर्वाचित हुनुभएको हो ।

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइजना उम्मेदवार रहेका थिए । उता प्रतिपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्थ्यो । यादवलाई कांग्रेस,माओवादी,समाजवादी,जसपा लगायतका दलको समर्थन रहेको थियो ।

३० हजार ३२८ मतभार ल्याएर यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । यादवले शाक्य र झालाई पछि पारेर निर्वाचित हुनुभएको हो । शाक्यले १६ हजार ३२८ मतभार ल्याउनु भएको थियो भने झाले २ हजार ५३७ मतभार प्राप्त गर्नुभएको छ ।

निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको थियो । साढे ३ बजेबाट मतगणना गरिएको थियो । उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहने व्यवस्था छ ।

संघीय संसद्का एकजना सांसदको मत बराबर ७९ मतभार गणना हुन्छ भने प्रदेश सांसदको एकजना बराबर ४८ मतभार गणना गरिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्वाचनमा भाग लिएनन् । प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् भने सातै प्रदेशमा गरेर २८ जना प्रदेश सभाका सांसद रहेका छन् ।

त्यसैगरी नेमकिपाका प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा ३ जना सांसद रहेका छन् । संघीय संसदका दुबै सदन गरेर ३ सय ३४ र सातै प्रदेशका गरी ५ सय ५० जना सांसद रहेका छन् । त्यसमध्ये संघीय संसदका सांसदको ३ सय ११ मत र प्रदेश सभा सांसदको ५ सय १८ मत खसेको थियो ।

मतदानका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान स्थल निर्धारण गरिएको थियो । वर्तमान उपराष्ट्रपति नन्द बहादुर पुनको दोस्रो पटकको कार्यकाल सकिन लागेकाले त्यसअघि नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन भएको हो । ईमेजखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार