आजबाट एसईई परीक्षा,५ लाख विद्यार्थी सहभागी हुँदै

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)बाट सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षा बिहान ८ बजेदेखि देशैभरका केन्द्रहरूमा एकैसाथ सुरु हुने जनाएको छ। कक्षा १० को अन्तिम परीक्षाको रूपमा रहेको एसईईका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी बिहीबार नै केन्द्रमा पुगिसकेको राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो।

राष्ट्रिय परीक्षा बोर्डले चैत १७ देखि २९ गतेसम्म हुने एसर्इईको तयारी पूरा भएको जनाएको छ। परीक्षा नियन्त्रक श्रेष्ठले परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको बताउनुभयो। ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदै छन् । ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एसईई परीक्षा समिति गठन गरेर व्यवस्थित गरिएको हो । परीक्षामा सहभागी हुन ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन् ।

एसईई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित जम्मा ७७ हजार ९९२ जना जनशक्ति प्रत्यक्ष रूपमा खटिने बोर्डले जनाएको छ। प्रश्नपत्र, उत्तरपुस्तिकासँग सम्बन्धित सामग्रीहरू सम्बन्धित परीक्षा केन्द्र र नजिकको प्रहरी चौकीमा पुर्या,उने कार्य सम्पन्न भइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले आफूले अध्ययन गरेको विद्यालय नपर्ने गरी परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको जनाएको छ।

बोर्डले यस वर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ। नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन्।जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ। जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि ईमेलमार्फत् पठाउने भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार