बाख्रापालक कृषकलाई घाँसको विउ र औषधी वितरण

  म्याग्दी न्युज संवाददाता

बेनी । बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेको बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध कृषकहरुलाई बुधबार घाँसको विउ र औषधी वितरण गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्ला बाख्रा ब्यवसायी संघ मार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ ।

केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बाख्रा ब्लक निरन्तरता कार्यक्रम अन्तरगत ६५ जना कृषकहरुलाई पालेको बाख्रा संख्याको आधारमा औषधी र घाँसको विउ वितरण गरिएको जानकारी दिनुभयो । जिल्ला बाख्रा ब्यवसायी संघका उपाध्यक्ष महेन्द्र बानियाको अध्यक्षता र नरबहादुर थापाको सञ्चालनमा भएको कार्यक्रममा गण्डकी प्रदेशका पशुपंक्षी तथा मत्य विकास निर्देशनालयका निर्देशक डा. मनबहादुर पुन, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले कृषकहरुलाई औषधी र घाँसको विउ वितरण गर्नुभएको थियो । ७५० किलोग्राम सुदान, बजरा, टियोसेन्टी जातको घाँसको विउका साथै आइभरनाइट ट्याब्लेट, मिनिरल र बाह्य परजिवी विरुद्धको औषधी वितरण गरिएको हो । सोही कार्यक्रममा कृषकहरुलाई अभिमुखीकरण र अन्तरक्रिया गरिएको थियो ।

चालु आर्थिक वर्षमा रु. २० लाख बिनियोजन भएको (ब्लक) कार्यक्रम मार्फत खोर तथा ओपन याड मर्मत, प्रजनन् बोका, फार्म यान्त्रिकरण, मासु पसललाई फ्रिज प्रदान गर्ने कार्यक्रम रहेको छ । व्यावसायिक बाख्रापालन विस्तार, मासुको उत्पादन बृद्धी, गुणस्तर सुधार र बजारीकरणमा सघाउने उद्देश्यले गत वर्षदेखि ब्लक कार्यक्रम शुरु भएको थियो । गत वर्ष ३९ जना कृषकहरुले ब्लक कार्यक्रममा आवद्ध भएका थिए । यस वर्ष १० वटा भन्दा बढी बाख्रा पालेका कृषकलाई कार्यक्रममा आवद्ध गराइएको छ । म्याग्दीलाई मासुमा आत्मनिर्भर बनाउने र नश्ल सुधारका लागि आवश्यक उन्नत जातका बोका उत्पादन गर्ने लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार