बेनी–जोमसोम सडक दैनिक छ घण्टा बन्द

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । हिमाल पारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक बिस्तारका लागि सडक बन्द गरिएको हो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० वैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिनुभयो । यस अघि २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा सोही समयमा यातायात बन्द गरिएको थियो ।

पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको आयोजनाले जनाएको छ । निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनको लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनहरुले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ ।

एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत पर्वतको मालढुङ्गा देखि म्याग्दी हुदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भैरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार