म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९, नेप्टेचौरमा ‘किङ कोब्रा’ जातको सर्प भेटिएको छ ।तराई र भित्रि मधेशमा पाइने किङ कोब्रा हिमाली जिल्लाको भूगोलमा भेटिएको हो । बेनी नगरपालिका–९,का वडा अध्यक्ष चक्र केसीका अनुसार नेप्टेचौरका टेकबहादुर खड्काको घरमा बुधबार किङ कोब्रा भेटिएको थियो ।
घरभित्र नयाँ जातको सर्प देखिएपछि फोटो खिचेर सम्बन्धीत विषयमा अध्ययन गरिरहेका विज्ञलाई पठाइएको र किङ कोब्रा भएको पुष्टि भएको उहाँले बताउनुभयो । यसअघि २०७५ मा कोसेपानीको जंगलमा किङ कोब्रा भेटिएको थियो । खड्काका अनुसार नेप्टेचौरमा पनि तीन वर्षअघि यस्तो सर्प दखिएको छ ।
पक्षी तथा जङ्गली प्राणीको खोज अनुसन्धानमा संलग्न त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालले तापत्रम वृद्धी र जलवायु परिवर्तनको असरका कारण उच्च पहाडी भूगोलमा किङ कोब्रा भेटिएको बताउनुभयो ।चोखाल घतान कोसेपानीका बासिन्दा हुनुहुन्छ ।दुर्लभ वनस्पति किङ कोब्रा अन्य जातको तुलनामा विषालु सर्प हो । किङ कोब्रालाई नेपालीमा काली नाग राज भनेर चिनिन्छ । वसन्त ऋतु सर्पको बच्चा जन्माउने र हुर्काउने याम हो । आहराको खोजी र वासस्थानमा अवरोध भएको अवस्थामा यो सर्प बाहिर निस्कने गर्छ ।
सो सर्पलाई नचलाउने, नजिस्काउने र नजीकमा नजाने हो भने यसबाट बच्न सकिने चोखालले बताउनुभयो । नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ्ग कोब्राको संख्या अत्यन्त न्यून रहेको छ । यसले आहाराको रुपमा अरु सर्पलाई नै खाने गर्दछ । नेपालको कानूनले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।