म्याग्दीको ग्रामीण क्षेत्रमा बिरामीको उपचार गर्दै डा.केसी

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गरिरहनुभएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–२, को भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीमा उहाँले आइतबारदेखि हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गरिरहनुभएको छ ।आइतबार र सोमबार दुई दिनसम्म उहाँले एक सय २५ जनाको उपचार गरेको भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीका प्रमुख कृष्ण केसीले जानकारी दिनुभयो । मंगलबार पनि केही समय सेवा दिने बताइएको छ ।

आइतबार ५५ र सोमबार ७० बिरामीको उपचार गर्नुका साथै परामर्श सेवा दिनुभएको थियो । स्वास्थ्यचौकीका प्रमुख केसीसहित सिनियर अहेव विक्रम पुन, अनमी नीता पुन,सनम वुद्धुजा पुन, अहेव चौथो सङ्गीना मगरातीलगायतले डा केसीलाई सघाउनुभएको थियो ।चिकित्सा शिक्षाका अभियान्ता डा केसीले गत हप्ता बागलुङको निसिखोला गाउँपालिकाको बोहोरागाउँ स्वास्थ्यचौकीमा तीन दिन उपचार गर्नुभएको थियो ।बागलुङबाट कुनै खबरबिना भुरुङ्ग तातोपानी आउनुभएको थियो ।

गाउँपालिका र स्वास्थ्यचौकीले औषधिको व्यवस्थापन गरेको थियो । “पूर्वजानकारीबिनै डा केसी स्वास्थ्यचौकीमा आउनुभएको थियो”, स्वास्थ्य चौकी प्रमुख केसीले भन्नुभयो ,“हामी पनि अचम्ममा प¥यौँ ।” स्वास्थ्य चौकीले सामाजिक सञ्जाल, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र संघसंस्थामार्फत सेवा लिनका लागि सर्वसाधारणलाई अनुरोध गरेको थियो ।

दाना, नारच्याङ, भुरुङ्ग तातोपानी, घार, शिख, पाउद्धार, पोखरेबगर, ठूलोबगरका सर्वसाधारण सेवा लिन आउनुभएको थियो । फुर्सदको समयमा ग्रामीण क्षेत्रका बिरामीको उपचारका लागि आएको डा केसीले बताउनुभयो । “ग्रामीण क्षेत्रमा हाडजोर्नी तथा नशारोगसम्बन्धी समस्या भएका धेरै बिरामी उपचारको पहुँच बाहिर छन्”, उहाँले भन्नुभयो , “फुर्सदको समयमा गाउँमै पुगेर सेवा दिने उद्देश्यले म्याग्दी आएको हुँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार