गण्डकीका मुख्य न्यायाधिवक्ता शर्माले लिए सपथ

  म्याग्दी न्युज संवाददाता

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जिवी शर्माले पद तथा गोपनियताको सपथ लिनुभएको छ । शर्माले उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराम आचार्यसँग विहिबार पद तथा गोपनियताको सपथ लिनुभएको हो ।मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सपथमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ,मन्त्रीहरू,प्रदेशसभा  सदस्य सांसद बिमला गाैचन लगायत उच्च पदस्थ कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो। मुख्य न्यायाधिवक्ताको नियुक्ती मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने व्यवस्था छ ।

बेनी नगरपालिकाका १० का स्थायी बासिन्दा उहाँ २०४८ देखि कानुन व्यवसायमा आबद्ध छन् । शर्मा शिक्षण पेसामा समेत आबद्ध हुनुन्थ्यो । नेपाली कांग्रेस म्याग्दीका पुर्व जिल्ला सचिव समेत रहनुभएका शर्माले बिएल, बिएडका साथै राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । म्याग्दीको महेन्द्र माविमा २ वर्ष प्रअ रहनुभएका उहाँले झण्डै १८ वर्ष म्याग्दी बहुमुखी क्याम्पसमा अध्यापन गर्नुभयो ।

उहाँले राजनीतिशास्त्र र बिजनेस ल विषय पढाउनुभएको थियो । शर्मा म्याग्दी जिल्ला बारका पूर्व अध्यक्ष हुनुहुन्छ । कानुनको सीमाभित्र रहेर प्रादेशिक संरचनालाई मजबुत बनाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने उहाँले बताउनुभयो । शर्मा गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बेनी नगरपालिकाको नगर प्रमख पदमा उमेद्वार बन्नुभएको थियो । मुख्य न्यायाधिवक्ताले उच्च अदालतका न्यायाधीश सरह सेवा, सुविधा पाउँछन् । संविधानको धारा १६०(५) मा मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकार हुने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार