बेनी–जोमसोम सडकमा सिधा सवारी सूचारु

  म्याग्दी न्युज संवाददाता

बेनी । बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि सिधा सवारी सूचारु भएको छ । सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो । मंगलवार राति करिब १० बजेबाट अबरुद्ध बनेको सिधा यातायात आज दिउँसो दुईबजेटबाट सुचारु भएको अन्नपूर्ण–२,का वडा अध्यक्ष ओम फगामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, कल्भर्ट बगाएको ठाउँमा कालीगण्डकी करिडोर सडक आयोजनाले डोजर परिचालन गरेर अस्थायी रुपमा खोलामा सवारी वारपार हुने गरि मर्मत गरेपछि सडकमा यातायात सूचारु भएको हो ।सडक अबरुद्ध बनेपछि बिच बाटोमै रोकिएका सवारी साधन सडक सुचारु भएसंगै आफ्नो गन्तव्यतर्फ लागेका छन् । गत जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको ३ मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । मंगलवार राती बर्षासंगै आएको बाढीले ह्युमपाइप र वरपरको सडक कटान गरेका थियो ।

यसैबिच बाढीले भुरुङतातोपानी बजारमा वितरण हुने खानेपानीको पाईप क्षतविक्षत बनाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ । करिब ८० घरधुरी रहेको तातोपानीमा खानेपानीको करिब ५ सय मिटर बढी पाईपलाईन क्षति भएको छ । गाउँपालिकाले पाईप बगाएको ठाउँमा अर्को पाईपको बन्दोबस्त गर्ने गरि स्थानीयबासी खानेपानीको मर्मतमा जुटेका छन् । साथै सोही बाढीले विद्युतका केही पोल समेत बगाएको थियो । बाढीले तातोपानीबाट भुरुङ जाने सडकमा समेत क्षति पु¥याएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार