कारागारलाई पुस्तक हस्तान्तरण

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । मानव अधिकार एलायन्सको २४औं स्थापना दिवसको अवसरमा आज (शुक्रवार) म्याग्दीमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार एलायन्स जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा जिल्ला कारागार कार्यालय म्याग्दीमा रहेको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरी दिवस मनाइएको हो ।
दिवसको अवसरमा मानव अधिकार एलायन्स म्याग्दीले १ सय १४ थान पुस्तकहरु जिल्ला कारागार कार्यालय म्याग्दीलाई उपलब्ध गराएको छ । कला, साहित्य, मनोरञ्जन, कानुन, संविधान, सिप विकास, स्वास्थ्य, दर्शन, राजनीति र मानव अधिकारसँग सम्बन्धित पुस्तकहरु हस्तान्तरण गरिएको मानव अधिकार एलायन्स जिल्ला कार्यसमिति म्याग्दीका सचिव दिलमाया बिटालुले जानकारी दिनुभयो ।
एलायन्सको पहलमा जिल्लास्थित विभिन्न पुस्तक पसल, संघसंस्था र व्यक्तिको सहयोगमा सङ्कलन गरिएका पुस्तकहरु जिल्ला कारागार कार्यालय म्याग्दीका प्रमुख प्रतिज्ञा सुवेदीलाई हस्तान्तरण गरिएको थियो । एलायन्स म्याग्दीका कार्यवाहक अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता र सचिव बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा एलायन्सका पूर्व जिल्ला अध्यक्ष घनश्याम खड्काको प्रमुख आतिथ्य एवं जनवर्गीय संयन्त्रको प्रमुख थमसरा पुनको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा एलायन्सका पूर्व अध्यक्ष खड्काले मानव अधिकार एलायन्सको बारेमा जानकारी गराउनुभएको थियो । उक्त पुस्तकहरु कारागारमा रही कैदी जीवन बिताइरहेका कैदीबन्दीहरुलाई लक्षित गरेर हस्तान्तरण गरिएको मानव अधिकार एलायन्स म्याग्दीले जनाएको छ । जिल्ला कारागार कार्यालय म्याग्दीमा हाल विभिन्न शीर्षकको घटनामा संलग्न ९१ जना कैदीबन्दीहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार