तातोपानी कुण्ड व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४,स्थित तातोपानी कुण्ड व्यवस्थापन समितिको शनिवार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले कृष्णबहादुर खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले कुण्ड व्यवस्थापन समितिको उपाध्यक्षमा उजेली श्रीष, सचिवमा कुमार केसी, कोषाध्यक्षमा प्रेम श्रीष र सहसचिवमा गणेशबहादुर बानियाँ चयन हुनुभएको हो ।

यसैगरी कुण्ड व्यवस्थापनको कार्यसमिति सदस्यहरुमा हिमाल बानियाँ, आकाश थापा, नन्दबहादुर बानियाँ, सीता घले, लोकनाथ आचार्य, कृष्ण घर्ती, मया विक र राजेन्द्र गिरी सर्वसम्मत चयन हुनुभएको नवनिर्वाचित सचिव कुमार केसीले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार अब बस्ने नयाँ कार्यसमितिको पहिलो वैठकले कुण्ड व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु पनि गठन गरिने भएको छ ।

यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले तातोपानी कुण्डलाई परम्परागत ढङ्गले भन्दा पनि अब आधुनिक तरिकाले व्यवस्थापन गरेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीयस्तरबाट व्यवस्थापन हुन नसके कुण्ड सञ्चालन गर्नका लागि नगरपालिकाले हस्तक्षेप गर्नुपर्ने हुन सक्छ भन्दै प्राकृतिक चिकित्सालयको उपचारस्थलको रुपमा परिचित तातोपानी कुण्डको दीगो व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । तातोपानी कुण्ड र बजारको संरक्षण गर्न ठूलोखोलादेखि अर्जेखोलासम्म ‘बेडबार’ लगाइने उहाँले जानकारी दिनुभयो ।

भोट हाल्ने समयमा तथा समिति चयनलगायत विभिन्न अवस्थामा राजनीति गरेपनि विकास निर्माणको काम गर्ने क्रममा भने राजनीति गर्न नहुनेमा जोड दिँदै नगर प्रमुख केसीले विकासमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले तातोपानी कुण्डबाट समग्र बेनी नगरपालिकाले फाइदा लिने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

सोही साधारणसभा तथा अधिवेशनमा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले तातोपानी कुण्ड, गलेश्वर मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रहरुलाई समावेश गरेर नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिइएको बताउनुभयो । उहाँले तातोपानी कुण्डको विकास, संरक्षण र प्रवद्र्धन गर्नका लागि नगरपालिका र जनप्रतिनिधिको तर्फदेखि आवश्यक पहल गरिएको बताउँदै प्राकृतिक चिकित्सालयको रुपमा विकसित भैरहेको तातोपानी कुण्डलाई थप विकास गर्नुपर्ने बताउनुभयो । बेनी नगरपालिका–४, सिङ्गाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले तातोपानी कुण्ड एकै ठाउँको मात्र नभई देशकै गहना भएकाले यसको दीर्घकालीन विकास गर्नुपर्ने जरुरी रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा सिङ्गाका वडा सदस्य प्रेम श्रीष, तातोपानी कुण्ड व्यवस्थापन समितिका पूर्व सचिव मिनबहादुर बानियाँ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, मगर संघ तातोपानीका अध्यक्ष कृष्ण घर्ती र तातोपानी तल्लोबजार टोल विकास समितिका अध्यक्ष दीपक बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटनसत्रमा निवर्तमान कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कुण्डका पूर्व तथा वर्तमान कर्मचारी र सहयोगीहरुलाई सम्मान गरिएको थियो । तातोपानी कुण्ड व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष वीरेन्द्रमान शाक्यको अध्यक्षता र सचिव कृष्णबहादुर खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा सदस्य गणेशबहादुर बानियाँले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार