पहिरोले बेनी–दरबाङ सडकमा यातायात अवरुद्ध

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो । पहिरो खसिरहेकाले सडक खुलाउने प्रयास असफल भएको प्रहरीले जनाएको छ । जिल्लाको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका तातोपानीका व्यवसायी हितबहादुर पुनले बताउनुभयो ।

अठार वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका–६,का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

यसैगरी पश्चिम म्याग्दीका ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । शनिवारदेखि लगातार पानी परिरहेकाले पश्चिम म्याग्दीको दरवाङ–बिम सडकबाहेक अन्य सडक अवरुद्ध हुँदा यात्रीले सास्ती भोग्नुपरेको मालिका गाउँपालिका–२,रुमका बेलबहादुर विकले जानकारी दिनुभयो ।
बेनी–दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ ।

’सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन,’ अध्यक्ष रोकाले भन्नुयो , ’म्याग्दी नदीको किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।’ उहाँका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो। ’फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो , ’ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।’सडक अवरुद्ध भएपछि पश्चिम म्याग्दीबाट सदरमुकाम बेनी हुँदै देशका विभिन्न ठाउँमा जाने यात्रु र यातायातका साधन सञ्चालन हुनसकेका छैनन् । देशका विभिन्न ठाउँबाट पश्चिम म्याग्दीका लागि आएका यातायातका साधन बीचबाटोमै अलपत्र परेका यातायात व्यवसायीले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार